मोड्रिचको ऐतिहासिक २००औं खेलमा क्रोएसियाको जित, विश्वकपको नकआउट सम्भावना जीवित

डिसी नेपाल
१० असार २०८३ १०:१४

काठमाडौं। क्रोएसियाका दिग्गज मिडफिल्डर एवं कप्तान लुका मोड्रिचले पुरुष अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल खेल्ने ऐतिहासिक कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पानामाविरुद्ध मैदान उत्रिँदै ४० वर्षीय मोड्रिचले यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन्।

योसँगै उनी क्रोएसियाका लागि २०० क्याप जित्ने पहिलो र विश्व फुटबल इतिहासकै चौथो पुरुष खेलाडी बनेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा खेलिएको यस प्रतिश्पर्धात्मक खेलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गर्दै प्रतियोगितामा आफ्नो अघिल्लो चरणको यात्रा कायमै राखेको छ।

सन् २००६ जुन १ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोड्रिचले आफ्नो दुई दशक लामो गौरवशाली करियरमा २९ गोल गरिसकेका छन् र उनी अझै पनि टोलीको मुख्य खम्बाका रूपमा सक्रिय छन्।

विश्व फुटबल इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ, जसले २३० भन्दा बढी खेल खेलिसकेका छन्।

यस सूचीमा दोस्रो र तेस्रो स्थानमा क्रमशः कुवेतका बादेर अल मतावा र अर्जेन्टिनाका लियोनल मेस्सी २०१ खेलसहित रहेका छन् भने मोड्रिच २०० खेलका साथ चौथो स्थानमा उक्लिएका छन्। पानामाविरुद्धको यस खेलमा ८१औँ मिनेटमा मैदानबाट बाहिरिँदा रंगशालामा उपस्थित ४३,०३६ दर्शकले मोड्रिचलाई उठेर सम्मान (स्ट्यान्डिङ ओभेसन) दिएका थिए।

विश्वकपको समूह ‘एल’ अन्तर्गत पहिलो खेलमा इङ्गल्यान्डसँग ४-२ को पराजय भोगेको क्रोएसियाका लागि यो खेल गर या मरको अवस्थामा थियो। खेलको पहिलो हाफ निकै कठिन र संघर्षपूर्ण रह्यो, जहाँ पानामाले बलियो रक्षात्मक र शारीरिक खेल प्रदर्शन गर्दै मोड्रिच र माटेओ कोभाचिचलाई खुल्ने मौका दिएको थिएन।

पहिलो हाफको २३औँ मिनेटमा पानामाका जोसे लुइस रोड्रिगेजको प्रहार क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचाउ गर्दै क्रसबार माथि पुर्‍याइदिएका थिए।

दोस्रो हाफमा क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले रणनीतिक परिवर्तन गर्दै पेटार मुसाको स्थानमा एभारेस्ट एन्ट बुडिमिरलाई मैदान पठाए, जसले खेलको ५४औँ मिनेटमा जोसिप स्टानिसीचको उत्कृष्ट क्रसलाई गोलमा परिणत गर्दै क्रोएसियालाई निर्णायक अग्रता दिलाए।

१-० ले पछि परेपछि पानामाले बराबरीका लागि निकै आक्रामक प्रयास गरे पनि क्रोएसियाका गोलकिपर लिभाकोभिच अभेद्य पर्खाल बनिदिए, जसले पानामाका लगातार तीनवटा कडा प्रहारलाई विफल तुल्याइदिए।

खेलको ५७औँ मिनेटमा मोड्रिचको उत्कृष्ट पासमा मारियो पासालिचले गोल गर्ने सुन्दर अवसर पाए पनि पानामाका गोलकिपर ओर्लान्डो मस्क्युराले त्यसलाई बचाएका थिए।

यस जितसँगै ३ अंक जोडेको क्रोएसिया समूह तालिकाको तेस्रो स्थानमा छ, जहाँ इङ्गल्यान्ड र घाना समान ४ अंकसहित अगाडि छन्। लगातार दोस्रो हारसँगै पानामा प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ भने क्रोएसियाले आगामी शनिबार घानाविरुद्ध फिलाडेल्फियामा हुने अन्तिम खेल जितेमा सिधै अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *