महानगरभित्रका सहकारीमा ६ हजार बचतकर्ताको साढे ५ अर्ब दाबी, कामपाद्वारा रकम फिर्ताको प्रक्रिया सुरु

डिसी नेपाल
१० असार २०८३ ११:२९

काठमाडौं। काठमाडौं महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड रुपैयाँ बराबरको बचत रकम फिर्ता गराइदिन माग गर्दै ६ हजार बचतकर्ताले आवेदन दिएका छन्।

विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म रकम फिर्ताको माग गर्दै निवेदन दिने बचतकर्ताहरूको सङ्ख्या लगातार बढ्दै गइरहेको छ।

विभागका प्रमुख ध्रुवकुमार काफ्लेले दैनिक करिब ३० जनाको हाराहारीमा नयाँ उजुरीहरू दर्ता भइरहेको र त्यसमा अधिकांश साना बचतकर्ताहरू रहेको जानकारी दिए।

यसरी पीडित हुने साना बचतकर्ताहरूले सहकारीमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म रकम जम्मा गरेका छन्। बचतकर्ताहरूबाट प्राप्त उजुरीकै आधारमा महानगरपालिकाले पछिल्लो समय समस्याग्रस्त सहकारीहरूबाट रकम फिर्ता गराउने ठोस प्रक्रियाको थालनी गरिसकेको छ।

यसै प्रक्रियाअन्तर्गत केही दिनअघि मात्रै कामपाले बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गराउन सफल भएको छ।

उक्त सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने साना लगानीकर्ताको रकम फिर्ता गरेको हो। विभागको योजना अनुसार आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने अन्य बचतकर्ताहरूको पनि रकम फिर्ता गराइने छ।

ठूला बचतकर्ताहरूको हकमा भने सहकारीको ऋण असुली प्रक्रियालाई तीव्र रूपमा अघि बढाउँदै बचत फिर्ता गराउन आवश्यक समन्वय भइरहेको प्रमुख काफ्लेले बताउनुभयो।

हाल सहकारी विभागले उजुरी दर्ता गर्ने, सहकारी सञ्चालक र बचतकर्ताहरूबीच आपसी छलफल गराउने तथा मिलापत्र गराउने कार्यलाई प्राथमिकता दिँदै आएको छ।

यदि छलफलका क्रममा दुवै पक्षबीच सहमति हुन नसकेमा विभागले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने नीति लिएको छ। हाल काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुल १ हजार ९१२ वटा सहकारीहरू दर्ता रहेका छन्।

तर, तीमध्ये जम्मा ५० प्रतिशत सहकारीले मात्रै नियमित रूपमा आफ्नो वार्षिक साधारणसभा गरेको प्रतिवेदन विभागमा पेस गर्ने गरेका छन्।

महानगरपालिकाले दर्ता भएर पनि नियमित रूपमा साधारणसभा नगर्ने र जिम्मेवारी पूरा नगर्ने त्यस्ता सम्पूर्ण सहकारीहरूमाथि कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *