लघुकथा : प्रेम
“आक्रान्त, मेरो कविता प्रथम भयो नि! चार सय एघार वटा कवितालाई पछि पार्दै मेरो कविता प्रथम भयो यार। म त धेरै उत्साहित भएकी छु,” विदुषीले खुसी व्यक्त गरी।
“भो भो, धेरै नहौसिऊ। अझै धेरै वसन्त पार गर्न बाँकी नै छ। साधनाले नै मानिसलाई सफलतातिर डोर्याउँछ। तिमी प्रथम भएकोमा म खुसी नै छु, बधाई छ! मेहनत जारी राख,” आक्रान्तले आलोचनात्मक टिप्पणी गर्यो।
आक्रान्त र विदुषी नेपाली साहित्यमा एम.फिल. गर्दै गरेका विद्यार्थी हुन्। आक्रान्त उपन्यास लेख्न मन पराउँछ भने विदुषी कविता। आक्रान्तको ‘त्रिकोण’ उपन्यास चर्चित छ भने विदुषीको ‘वनफूलहरू’ कविता सङ्ग्रह पनि चर्चाको शिखरमै छ।
आक्रान्त र विदुषीका परिवार सामान्य साक्षर मात्र हुन्। निम्न मध्यमवर्गीय पृष्ठभूमिमा हुर्किएका यी दुईको भेट अध्ययनका क्रममा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भएको हो। स्नातक तह पूरा गरेर पाँच-पाँच वर्ष शिक्षण पेसामा संलग्न रही खर्च जुटाएर उनीहरू यहाँ अध्ययनका लागि आएका हुन्।
आक्रान्त पश्चिमेली ठिटो हो भने विदुषी पूर्वेली ठिटी। ब्राह्मण समुदायका यी दुवै विद्यार्थी आफूलाई पढाइमा अब्बल बनाउन कोसिसरत छन्। उनीहरूको साझा ध्येय विद्यावारिधि (पीएच.डी.) गर्ने हो।
आक्रान्त गम्भीर देखिन्छ भने विदुषी भावुक। पढाइका साथसाथै उनीहरू विद्यार्थी राजनीतिमा पनि सक्रिय छन्। अनेरास्ववियुमा आबद्ध उनीहरू प्रगतिशील साहित्य लेख्न र पढ्न रुचाउँछन्। म्याक्सिम गोर्कीलाई आदर्श मान्ने उनीहरू वर्गसङ्घर्षप्रति प्रतिबद्ध छन्। गोर्कीको ‘आमा’ उपन्यासले नै उनीहरूमा प्रगतिशील चेत भरेको हो।
दैनिक हेलमेल बढेसँगै उनीहरूबीच आत्मीयता पनि गाढा हुँदै गएको छ। अहिले त एकले अर्कालाई नभेटी नहुने मनस्थितिको विकास भइसकेको छ।
वास्तवमा यो साहित्यिक जोडी प्रेममा समर्पित होला त? उनीहरूको विचार, पढाइ र वर्गीय चरित्रलाई हेर्दा यसमा शङ्का गर्नुपर्ने कुनै आधार देखिँदैन।
No ads found for this position


Facebook Comment