ललित विष्टको ‘उत्कर्ष’: मनोविज्ञान र राजनीतिको एउटा गम्भीर विमर्श

डिसी नेपाल
१३ असार २०८३ ७:४५

साहित्य लेखनलाई जीवनको गहिरो दर्शन र मानवीय संवेदनाको कसीमा राखेर कलम चलाउने थोरै लेखकहरूमध्ये एक हुन्, ललित विष्ट। सुदूरपश्चिमको कैलाली जिल्लास्थित टीकापुर घर भइ हाल काठमाडौंलाई कर्मथलो बनाएका विष्ट अब्बल लेखन क्षमता भएका युवा लेखक हुन्।

उनको पछिल्लो कथासंग्रह ‘उत्कर्ष’ले नेपाली कथा विधामा नयाँ बहस र तरङ्ग पैदा गरेको छ। पात्रहरूको मनोवैज्ञानिक अन्तर्द्वन्द्व र समाजका नबोलिएका पीडाहरूलाई आफ्नो सिर्जनाको आधार बनाउने लेखकका रूपमा चिनिने उनी, आफूलाई एक ‘प्रेम गर्न नजान्ने’ मानिस ठान्छन्, तर उनको लेखनले पाठकको मनमा गहिरो छाप छोड्छ।

उनको यसअघि प्रकाशित ‘मोहपथ’ पुस्तक मदन पुरस्कारको उत्कृष्ट सूचिमा पर्न सफल भएको थियो। जीवन, राजनीति र मनोविज्ञानको त्रिकोणात्मक धरातलमा उभिएर मानिसका भोगाइलाई शब्दमा उतार्ने उनै सर्जक विष्टसँग ‘उत्कर्ष’ का कथाहरू, लेखकको साधना र वर्तमान नेपाली साहित्यको अवस्थाबारे गरिएको संवाद यहाँ प्रस्तुत छ:

तपाईंका लागि साहित्य के हो, अभिव्यक्ति, प्रतिरोध, आत्मखोज, समाजको दस्तावेज वा अन्य केही?

तपाईंले प्रश्नमा दिनु भएका विकल्पलाई मात्रै साहित्य भनेर परिभाषित गर्नु उपयुक्त हुँदैन। यो वैचारिकी र अनुभूतिको त्यो अन्त्य हो, जसको सरहद हुँदैन। मलाई लाग्दैन- यो अनन्त विषयमा मेरो परिभाषाले पूर्णता पाउछ।

तपाईंलाई लेखनतर्फ आकर्षित गराउने प्रेरणा के हो?

म प्रेम गर्न नजान्ने मानिस हुँ। आफूसँग नभएको कुराको लोभ सायद सबैमा रहँदो हो। सबैले प्रेम गरून् भन्ने लोभले पनि म लेख्छु कि! अन्य प्रेरणाको लागि भनिहालौं न भन्ने विषय छन्। स्मृतिमा यहि हो, भन्ने कुरा चाहिँ छैन।

तपाईंका कथाहरूमा जीवनको गहिरो दर्शन र मानवीय अन्तर्द्वन्द्व देखिन्छ। यो दृष्टि कसरी विकसित भयो?

यो जीवनको हुर्काइजस्तो हो। म बालकबाट किशोर, किशोरबाट युवक बनेजस्तो। मलाई थाहा छ, म युवक हुँ। मसङ्ग उत्तर छैन, म युवक कसरी बनेँ? सायद यहि प्रकृति र जीवनको अन्तरसम्बन्ध झै स्वभाविक लेखनका क्रममा थपिँदै गएका विषय होलान्।

लेखन र जीवनबीच कस्तो सम्बन्ध देख्नुहुन्छ?

जीवन छ, अनि जिवन र जगतलाई परिभाषित गर्ने कला हो लेखन।

उत्कर्ष शीर्षकले के संकेत गर्छ?

व्यक्ति, समाज र देशमा भएका व्यवस्था तथा भेदले उत्पन्न मानवीय अनुभूतिको चरम अभिव्यक्ति।

यस कृतिको मूल वैचारिक धरातल के हो?

जीवन, मनोविज्ञान र राजनीति। अझै स्पष्ट हुन `उत्कर्ष´ एकपटक पढ्न सबैलाई आग्रह गर्छु।

उत्कर्ष लेख्दा तपाईंलाई सबैभन्दा बढी कुन प्रश्नले सतायो वा कुन विषयले आकर्षित गर्‍यो?

यस कृतिमा समावेस १० वटा कथा नै प्रश्न हुन्। ती १० वटै विषय मेरा लागि उत्तिकै रुचिकर भए। कसैले लेख्न दिएको, अनुभूति र रुचि नभएको म लेख्नै सक्दिनँ।

लेखकको दृष्टिकोणमा यस कृतिमा पाठकले खोज्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो?

पाठकलाई मेरो दृष्टिकोणले भन्नू पाठकको अपमान हुन्छ। पाठकले पुस्तकमा भेटाउनु भएको र महसुस गर्नु भएको विषय नै मेरो दृष्टिकोण हो। कथानक हो।

तपाईं पात्र सिर्जना गर्नुहुन्छ कि पात्रहरूले तपाईंलाई कथा लेख्न बाध्य बनाउँछन्?

मलाई लाग्छ- लेखनको मेरुदण्ड नै विषय हो। विषयले पात्र निर्माण गर्छन्। पात्र र विषयको अन्तरघुलन पश्चात् कथाले आकार लिन्छ। उदाहरणको लागि विभेदलाई विषय बनाउनु पर्नेछ। अब विभेद कसलाई छ? किन छ? त्यो के हो? अनि विस्तारै विषयको आवश्यकता अनुरुप पात्र जन्मिँदै जान्छन्। यसपछि मात्रै मेरालागि बाध्यताको चरण सुरु हुन्छ।

तपाईंका कथामा नबोलिएका पीडाहरूको प्रयोग धेरै देखिन्छ, स्वयं लेखक यो कुरा स्वीकार्नुहुन्छ?

विषयको विषयमा वा पात्रको मनोवृत्तिको विषयमा वा कथा संरचनाको विषयमा? जेहोस, हुनसक्छ। पुस्तक बजाएरमा गएको एक दुई महिना हुन थाल्यो, पाठकवर्गले मलाई भन्नुहुन्छ होला।

वास्तविक जीवनका पात्र र अनुभवहरू कथामा कति प्रवेश गर्छन्?

वास्तविक पात्रको घटना र प्रवृती लेखकले देखिसकेपछि आफूभित्रको अनुभूति र विषयमा मिलाउछ। मिलाएका विषयलाई छाटकाट गर्छ। ती योग्य छन् भने लेखनमा समावेश गर्छ।

कथा लेख्दा कथानकभन्दा पात्रलाई बढी महत्त्व दिनुहुन्छ कि विचारलाई?

कथानक, पात्र वा अन्य तत्वको एकल उपस्थितिले मात्रै कथा बन्दैन। बरु मैले सोध्नु पर्छ, `उत्कर्ष´ पुस्तकका कथाहरूमा कुन तत्वलाई प्रधानन बनाएको पाउनु भयो?

तपाईंका पात्रहरू प्रायः किन अन्तर्द्वन्द्वमा देखिन्छन्?

सायद मैले निमार्ण गर्ने कथानकको माग हो कि? फेरि पात्र भनेको उसको बाह्य चित्रण मात्रै पूर्ण हुन सक्दैन भन्ने मेरो मानसिकताले पनि होला।

अघिल्लो कथासंग्रह मदन पुरस्कारको उत्कृष्ट सूचीमा पर्दा कस्तो अनुभूति भएको थियो?

पुस्तक प्रकाशन पश्चात पाठक प्रतिक्रिया, पुरस्कार र बजारमा हुने सकारात्मक चर्चाले दिने अनुभूति सुखद् हुने नै भयो। मेरा पनि सोही भावानुभूति रहे।

त्यस उपलब्धिले लेखनप्रति दबाब बढायो कि आत्मविश्वास?

दुवै। थोरै थोरै।

पुरस्कार र मूल्याङ्कनले लेखकको सिर्जनात्मक स्वतन्त्रतामा प्रभाव पार्छ?

लेखक पूरै निरपेक्ष हुन सक्दैन। अलिकति प्रभाव त पार्छ होला। फेरि लेखकको व्यक्तित्वले पनि फरक पर्छ होला।

अहिलेको नेपाली साहित्यको सबैभन्दा ठूलो चुनौती के हो?

राज्य, समाज, पुजी, सूचना प्रविधि र अन्य धेरै कुराहरू छन्। फेरि तिनै कुराहरूको सदुपयोग अवसर हुन् र तिनै कुराको दुरुपयोग चुनौती हुन्।

तपाईं नयाँ पुस्ताको लेखक, नेपाली कथाले अहिले कुन विषयमा पर्याप्त बहस गर्न सकेको छैनझै लाग्छ?

खासै कथा नै लेखिएजस्तो लाग्दैन, यहि बहसको विषय हो। वर्षभरीमा पनि देशभर दुईतीन वटा जति कथा संग्रहको नाम चर्चामा आएको सुनिँदैन। अरु बहस पुस्तक प्रकाशन पछिको कुरा हो।

लेखनका क्रममा तपाईंलाई सबैभन्दा धेरै डर लाग्ने कुरा के हो?

त्यस्तो छैन।

एउटा लेखकले कुन सत्यसँग कहिल्यै सम्झौता गर्नु हुँदैन?

धेरै सत्यहरु छन्, लेखकको व्यक्तिगत, शैलीगत, नैतिक, मौलिक। सबैभन्दा महत्वपूर्ण लाग्ने सत्य हो, जीवन। लाग्छ, मानवीय जीवनसङ्गै धेरै जीवनको कल्याणका लागि लेखिनुपर्छ।

तपाईंका अनुसार राम्रो साहित्यले पाठकलाई के दिनुपर्छ?

तृप्तीसंङ्गै राज्य, समाज र व्यक्तिलाई बोध गर्ने कौशलता।

जीवन र साहित्यमध्ये कुन बढी रहस्यमय लाग्छ?

जीवन। साहित्य जिवनकै यात्रामा अभिलेखिकरण गरिएको अभिव्यक्ति त हो।

तपाईंका कथाहरू पढेपछि पाठक धेरै दिनसम्म उकुसमुकुस हुन्छन्, यो गहिराइको साहित्य लेख्न कति गहिरो साधना आवश्यक पर्छ?

लेखकहरूले पुस्तक लेख्दा अपाउने चरण नै हुन्। दृष्यलाई र विषय टिप्नु अनि महसुस गर्नु र लेखन कार्य आरम्भ गर्नु। मेरो पनि यहि बाटो हो।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

`उत्कर्ष´पढ्नुहोस्। अन्य राम्रा राम्रा पुस्तकहरू बजारमा छन्। नपढ्ने व्यक्ति, समाज र राष्ट्रको गतिलो र गर्विलो इतिहास र सभ्यता हुँदैन। सम्वृद्धि र विकास हुन सक्दैन। सबैलाई पढ्नुहोस्, पढाउनुहोस् भन्न चाहन्छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *