ट्राफिक प्रहरीको सक्रियता: एकै दिन २१ सय चालक कारबाहीमा, २१ लाख राजस्व संकलन

डिसी नेपाल
१३ असार २०८३ ७:०५

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ। बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने दुई हजार १०२ जना सवारीचालक कारबाहीमा परेका छन्।

यसरी गरिएको व्यापक कारबाहीबाट राज्यकोषमा कुल २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समय सडक अनुशासन कायम गराउन ट्राफिक प्रहरीले आकस्मिक तथा नियमित चेकिङलाई जोड दिँदै आएको छ।

कारबाहीमा परेकाहरूमध्ये सबैभन्दा धेरै अन्य विभिन्न सवारी नियम पालना नगर्ने एक हजार ४८४ जना रहेका छन्। त्यस्तै, पछिल्लो समय बढ्दै गएको राइड सेयरिङको विकृतिलाई लक्षित गरी नियमविपरीत सञ्चालन गरिएका १०८ वटा ‘राइड सेयरिङ’ सवारीसाधनलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, संकेत बत्ती (ट्रयाफिक लाइट) उल्लंघन गर्ने ९९ जना र मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८९ जना चालक कारबाहीको दायरामा आएका छन्।

यसैगरी तीव्रगतिमा सवारीसाधन हुइँक्याउने ८३ जना, एकतर्फी (वानवे) सडकमा सवारीसाधन गुडाउने ७८ जना र लेन अनुशासन पालना नगर्ने ५९ जना चालकहरू पनि कारबाहीमा परेका छन्।

सडक सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिएको लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन सञ्चालन गर्ने दुई जना चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। उपत्यकाको सडकलाई सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबैमा अनुरोध समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *