शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र होइन, सामाजिक एकताको आधार हो: उपराष्ट्रपति यादव

डिसी नेपाल
१४ असार २०८३ १३:५१

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने बलियो आधार भएको बताएका छन्।

मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

समारोहमा बोल्दै उपराष्ट्रपति यादवले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि केवल समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको स्मरण तथा आत्मसमीक्षा गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरे।

यस किसिमको ऐतिहासिक अवसरले भविष्यमा अझ बढी सकारात्मकता र दृढ संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा दिने उनको भनाइ थियो। उनले कलेज परिवार, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई रजत जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै विगत अढाई दशकमा कलेजले सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गरेर राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले प्रसिद्ध संस्कृत श्लोक ‘विद्या ददाति विनयम्’ उद्धृत गर्दै शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्ने स्पष्ट पारे। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको मियो भएको उनले प्रष्ट पारे।

प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा हामीले आफ्ना आधारभूत मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्नेमा उनले जोड दिए।

युवाहरूको सफलता नै देशको सुनौलो भविष्यको आधार स्तम्भ भएको उल्लेख गर्दै उनले शिक्षकहरूलाई राष्ट्र निर्माणका सच्चा अभियन्ताका रूपमा चित्रण गरे, जसले विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेर समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *