असार १५ को दही-चिउरा: वर्षभरि नै खान मिल्ने एक सर्वगुणकारी नेपाली भोजन
काठमाडौं। असार १५ अर्थात् दही-चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको एक विशेष अवसर हो। धान रोपाइँको व्यस्त एवं थकाइलाग्दो मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परापूर्वकालदेखि नै दही-चिउरा खाने चलन रहिआएको छ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार दही-चिउरा केवल सांस्कृतिक परम्परा मात्र नभई वैज्ञानिक रूपमा पनि मानव स्वास्थ्यका लागि निकै लाभदायी भोजन हो।
दहीले पेटको स्वास्थ्य र पाचन प्रणालीलाई सुदृढ बनाउने तथा चिउराले पर्याप्त ऊर्जा प्रदान गर्ने भएकाले यो परिकार असार १५ मा मात्र सीमित नराखेर वर्षभरि नै नियमित रूपमा खान सकिने एक स्वस्थकर नेपाली रैथाने भोजन हो।
यद्यपि, दही-चिउरा शरीरका लागि पोषिलो र सन्तुलित आहार भए तापनि यसलाई सबै रोगको औषधि वा कुनै चमत्कारी भोजनका रूपमा मात्रै बुझ्न नहुने उनको भनाइ छ।
विशेष गरी दहीले पेटको स्वास्थ्य सुधार्न, पाचन प्रणालीलाई सन्तुलित राख्न तथा शरीरलाई आवश्यक लाभदायी जीवाणु अर्थात् प्रोबायोटिक्स उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छ।
यही कारणले गर्दा नेपाली भोजन संस्कृतिमा प्राचीन कालदेखि नै दही र मोहीलाई अभिन्न अंगका रूपमा समावेश गर्ने गरिएको हो। असार महिनामा खेतबारीमा धान रोपाइँको कठिन श्रम गर्ने किसानका लागि दही-चिउरा उपयुक्त ऊर्जा दिने भोजन साबित हुँदै आएको छ।
पहिलेको समयमा अहिलेको जस्तो बजारमा सहजै खानेकुरा उपलब्ध नहुने भएकाले लामो समयसम्म नबिग्रिने चिउरा र दही खेतसम्म लैजान पनि निकै सजिलो हुन्थ्यो।
चिउरामा पर्याप्त कार्बोहाइड्रेट, ऊर्जा, केही मात्रामा प्रोटिन र अन्य पोषक तत्व पाइने हुनाले दहीसँगको यसको सम्मिश्रणले शरीरलाई आवश्यक स्फूर्ति दिनुका साथै पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ।
किसानहरूलाई चर्को गर्मीमा काम गर्दा हुन सक्ने डिहाइड्रेसन अर्थात् जलवियोजनबाट जोगाउन दही, मोही र चिउरा खाने चलन विकसित भएको हो, जसको वैज्ञानिक आधार अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छ।
आजभोलि दही-चिउरामा विभिन्न मौसमी फलफूलहरू मिसाएर खाने नयाँ चलन बढेको छ। यस विषयमा डा. उप्रेतीले स्वस्थकर र पोषिलो खानेकुरासँग फलफूल वा अन्य पौष्टिक परिकार मिसाएर खानु स्वास्थ्यका लागि अझ बढी फाइदाजनक हुने स्पष्ट पारेकी छन्। त्यसैगरी, दही–चिउराले तौल घटाउन सहयोग गर्छ भन्ने जनधारणा आंशिक रूपमा मात्र सही भएको उनको ठम्याइ छ।
दही-चिउरा खाँदा थोरै परिमाणमा खाए पनि पेट भरिएको महसुस हुने र लामो समयसम्म भोक नलाग्ने भएकाले बढी खाने बानी कम हुन जान्छ र यसले अप्रत्यक्ष रूपमा तौल नियन्त्रणमा सहयोग पुर्याउँछ। तर, दही-चिउरा खाए लगत्तै फेरि अन्य धेरै क्यालोरीयुक्त चिल्लो र गुलियो खाना खाइयो भने तौल घट्नुको साटो उल्टै बढ्न सक्ने तर्फ उनले सचेत गराएकी छन्।
यसै क्रममा, दही-चिउराले मानसिक तनाव र चिन्ता हटाउँछ भन्ने कतिपय दाबीलाई भने उनले वैज्ञानिक रूपमा पुष्टि नभएको प्रस्ट पारेकी छन्। कुनै पनि स्वस्थकर खानेकुराले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भए तापनि दही-चिउरा खाँदैमा मात्रै तनाव वा चिन्ता दूर हुँदैन।
मानसिक स्वास्थ्यलाई सबल बनाउनका लागि स्वस्थ जीवनशैली, नियमित सन्तुलित आहार, पर्याप्त निद्रा र अन्य सकारात्मक बानीहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
डा. उप्रेतीले दही-चिउरालाई असार १५ गते मात्रै खाने पर्वको रूपमा नलिन र हप्तामा एक-दुई पटक आफ्नो नियमित खानामा समावेश गर्न सल्लाह दिएकी छन्।
विशेष गरी बालबालिकाहरूलाई चाउचाउ, बिस्कुट जस्ता बजारिया जंकफुड दिनुको सट्टा यस्ता परम्परागत स्वस्थकर खानेकुरा खुवाउनुपर्छ, जसले उनीहरूलाई सानैदेखि राम्रो भोजन संस्कृति र स्वस्थ जीवनशैली सिकाउन मद्दत गर्दछ।
सम्पूर्ण नेपालीलाई राष्ट्रिय धान दिवसको शुभकामना दिँदै उनले यस्ता स्वस्थकर परम्परागत भोजनलाई आफ्नो दैनिक जीवनमा अनिवार्य रूपमा अपनाउन आग्रह समेत गरेकी छन्।






डिसी नेपाल





Facebook Comment