फेसबुक बन्यो अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार

डिसी नेपाल
१५ असार २०८३ १३:१२

काठमाडौं । वन्यजन्तु संरक्षणसँग जोडिएका विभिन्न गैर-सरकारी संस्थाहरूको एउटा प्रतिवेदनले फेसबुक विश्वमै अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार बनेको दाबी गरेको छ।

प्रतिवेदनका अनुसार, फेसबुकको मातृ कम्पनी ‘मेटा’ को कमजोर सामग्री सञ्चालन (कन्टेन्ट मोडरेशन) व्यवस्था र कन्टेन्टबाट कमाइ गर्न मिल्ने (मोनेटाइजेशन) सुविधाका कारण यो अवैध कारोबारले प्रश्रय पाइरहेको छ।

‘ग्लोबल इनिशिएटिव अगेंस्ट ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम’ द्वारा गरिएको अध्ययन प्रतिवेदन अनुसार, अप्रिल २०२४ देखि मार्च २०२६ को बीचमा सामाजिक सञ्जालहरूमा २० हजारभन्दा बढी विज्ञापन र २ लाख ६० हजारभन्दा बढी वन्यजन्तु तथा तिनका अङ्गहरूको बिक्रीसँग जोडिएका पोस्टहरू फेला परेका थिए। तीमध्ये करिब ७५ प्रतिशत विज्ञापनहरू फेसबुकमा मात्रै पाइएका हुन्।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार, अनलाइन बिक्रीका लागि राखिएका वन्यजन्तुहरूमध्ये करिब ८४ प्रतिशत यस्ता थिए, जसको अन्तर्राष्ट्रिय व्यावसायिक व्यापारमा ‘साइटिस’ सन्धि अन्तर्गत पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसरी बिक्रीमा राखिएका प्रजातिहरूमध्ये आधाभन्दा बढी प्रजातिहरू संकटग्रस्त वा अत्यधिक संकटग्रस्त अवस्थामा रहेका छन्। यी अवैध उत्पादनहरूको कुल विज्ञापित मूल्य ६.६ करोड डलर भन्दा बढी रहेको प्रतिवेदनमा खुलाइएको छ।

यस अवैध बजारमा सालक, गैँडाको खाग, चिम्पान्जी र विभिन्न संरक्षित चराचुरुङ्गीहरूका साथै तिनका अङ्गहरूको खुलेआम बिक्री भइरहेको उदाहरणहरू शोधकर्ताहरूले प्रस्तुत गरेका छन्।

मेटाको विज्ञापन र सब्सक्रिप्सन जस्ता मोनेटाइजेशन मोडलले त्यस्ता अवैध अकाउन्टहरूलाई आर्थिक लाभ पुर्‍याउने र यसले तस्करीलाई थप बढावा दिने आरोप शोधकर्ताहरूले लगाएका छन्।

यद्यपि, मेटाले यी गम्भीर आरोपहरूमाथि विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको छ। कम्पनीले आफ्नो प्लेटफर्ममा संकटग्रस्त वन्यजन्तु र तिनका उत्पादनहरूको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको दाबी मात्र गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *