फ्रान्समा विमान दुर्घटना: ५ स्काइडाइभिङ प्रशिक्षक र ५ नर्ससहित ११ जनाको मृत्यु
पेरिस। फ्रान्समा एउटा अत्यन्तै दुःखद र भयानक विमान दुर्घटना भएको छ, जसलाई सैन्य र व्यावसायिक उडानहरू बाहेक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो निजी विमान दुर्घटना मानिएको छ।
यस भीषण दुर्घटनामा परी विमानमा सवार पाँच जना स्काइडाइभिङ प्रशिक्षक र पहिलो पटक स्काइडाइभको अनुभव लिन आएका पाँच जना र पाइलट गरी सबै ११ जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार, पहिलो पटक स्काइडाइभिङ गर्न आएका ती पाँचै जना मृतकहरू पेसाले नर्स थिए।
यो दर्दनाक दुर्घटना स्थानीय समयानुसार बिहानको करिब ११ बजे अचानक भएको थियो। दुर्घटना लगत्तै विमानमा भीषण आगलागी भएको थियो। उक्त विमान एयरफिल्ड (विमानस्थल) को किनारमा रहेको आवासीय क्षेत्र र एउका सपिङ सेन्टर नजिकै खसेको थियो। भाग्यवश, केही मिटरको मात्र दुरीको अन्तर भएका कारण आसपासका घरहरू र त्यहाँका बासिन्दाहरू एउटा ठूलो विपत्तिबाट जोगिन सफल भए।
यो दुर्घटना झनै हृदयविदारक यसकारण बन्यो कि पहिलो पटक स्काइडाइभिङको रोमान्चक अनुभव लिन आएका ती नर्सहरूका परिवारका सदस्य र आफन्तहरू उनीहरूको हौसला बढाउन एयरफिल्डमै उपस्थित थिए। आफ्ना प्रियजनहरू चढेको विमान अचानक आँखाकै अगाडि दुर्घटनाग्रस्त भई सखाप भएको कयौँ प्रत्यक्षदर्शी आफन्तहरूले आत्मसात गर्नु पर्यो। यो अकल्पनीय र दर्दनाक दृश्य आफ्नै आँखाले देखेपछि मृतकका परिवार र आफन्तहरू यतिबेला गम्भीर मानसिक आघातमा परेका छन्।
फ्रान्सका गृह मन्त्री लरेन्ट न्युनेज ले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पेरिस अभियोजन कार्यालयले यस विमान दुर्घटनाको विषयमा विस्तृत कानुनी अनुसन्धान सुरु गरिसकेको जानकारी दिएका छन्। फ्रान्सेली उड्डयन सुरक्षा एजेन्सीका अनुसार, निजी उडानको क्षेत्रमा भएको यो दुर्घटना फ्रान्सको उड्डयन इतिहासकै सबैभन्दा घातक र कालो दिनका रूपमा दर्ता भएको छ। विमान के कति कारणले अचानक दुर्घटनाग्रस्त हुन पुग्यो भन्नेबारे प्राविधिक टोलीले सुक्ष्म अध्ययन गरिरहेको छ।






डिसी नेपाल





Facebook Comment