रसुवामा साढे तीन करोड बढीको अवैध सामग्री बरामद, एम्बुलेन्सबाट चुरोट तस्करी गर्ने चालक धरौटीमा रिहा

डिसी नेपाल
१६ असार २०८३ ७:५५

रसुवा। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा रसुवामा साढे तीन करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको छ।

राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासबाट कुल रु ३ करोड ५१ लाख ७६ हजार ४२० मूल्य बराबरका अवैध सामान नियन्त्रणमा लिइएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार यस अवधिमा सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले २३ पटक, जिल्ला प्रहरी कार्यालयले १९ पटक र भन्सार कार्यालय आफैँले १५ पटक विभिन्न स्थानमा छापा तथा जाँच गरेका थिए।

सुरक्षा निकायले नियन्त्रणमा लिएका सामग्रीहरूमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपडा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोटलगायत रहेका छन्।

भन्सार कार्यालयका अनुसार बरामद गरिएका यी सामग्रीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा खाद्य उपभोग्य वस्तुको रहेको छ। सुरक्षाकर्मीले प्रारम्भिक रूपमा बजार मूल्यका आधारमा सामानको मूल्यांकन गरे पनि अन्तिम मूल्य भने खाद्य गुण नियन्त्रणसम्बन्धी परीक्षण, अन्तरराष्ट्रिय बजार मूल्य र मूल्य निर्धारण समितिको निर्णयका आधारमा तय हुनेछ।

यसरी मूल्य निर्धारण भएपछि बिक्रीयोग्य सामग्रीलाई लिलाम गरिने र उपभोगका लागि अयोग्य ठहरिएका वस्तुहरूलाई सम्बन्धित निकायका प्रतिनिधिको रोहवरमा नष्ट गरिने कानुनी व्यवस्था रहेको सूचना अधिकारी गैह्रेले जानकारी दिए।

यसैबीच, बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गरी चिनियाँ चुरोट तस्करी गरिएको घटनामा संलग्न एक चालकलाई प्रहरीले कानुनी दायरामा ल्याएको छ। आमाछोदिङ्मो गाउँपालिकाको एम्बुलेन्समा अवैध रूपमा चुरोट लुकाएर ओसारपसार गरिरहेको अवस्थामा रसुवा प्रहरीले गत चैत ६ गते बेत्रावतीबाट चालकलाई पक्राउ गरेको थियो।

भन्सार कार्यालयका अनुसार हाल कानुनी प्रक्रिया पूरा गरी ती चालकलाई धरौटीमा रिहा गरिएको छ भने एम्बुलेन्सलाई सम्बन्धित गाउँपालिकाको जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी प्रमुख अशोक थापाले प्रहरीको गस्ती, सवारीसाधन जाँच र विशेष सूचनाका आधारमा अवैध सामग्री नियन्त्रणमा लिने कार्यलाई कडाइका साथ निरन्तरता दिइएको र बरामद सामान तत्काल भन्सारमा बुझाउने गरिएको बताए।

आगामी दिनमा समेत राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयले संयुक्त अनुगमन तथा जाँचलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता भन्सार अधिकारीहरूले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *