देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना, मौसम विज्ञान विभागद्वारा विशेष सतर्कता अपिल
काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बन्दै गएकाले आज र भोलि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी (मुसलधारे) वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुनी गतिविधि देशभर व्यापक रूपमा सक्रिय हुन लागेको जनाएको छ।
बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालतर्फ प्रचुर मात्रामा जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको क्षेत्र र तीव्रता दुवै बढ्ने मौसमविद्हरूको अनुमान छ।
विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त ठाउँहरूको पहिचान गरी सुरक्षित रहन तथा यात्रा गर्दा विशेष ख्याल गर्न आग्रह गरेको छ।
यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा ६ दिन ढिलो गरी असार ५ गते (जुन १९ तारिखमा) कोशी प्रदेशको पूर्वी भूभागबाट भित्रिएको थियो। ढिलो गरी प्रवेश गरेका कारण सुरुवाती दिनहरूमा मनसुन कमजोर देखिए पनि अहिले यो क्रमशः पश्चिमतर्फ फैलिँदै देशभर सक्रिय हुने क्रममा छ।
महाशाखाका अनुसार आगामी दुई दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ भने केही स्थानमा अति भारी वर्षा समेत हुन सक्नेछ। यसका साथै तराईका कतिपय क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना समेत औंल्याइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मौसम विभागको यो चेतावनीलाई मध्यनजर गर्दै तटीय क्षेत्र तथा पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूलाई सजग रहन अपिल गरेको छ।
लगातारको भारी वर्षाका कारण साना तथा ठूला नदीनाला र खोलाहरूमा पानीको सतह अचानक बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जान सक्ने र तराई तथा सहरी क्षेत्रहरूमा डुबान हुन सक्ने खतरा छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले नदी किनारका बासिन्दा, सवारी चालक र सर्वसाधारणलाई नदी तथा खोला तर्दा वा यात्रा गर्दा विशेष सावधानी अपनाउन र स्थानीय प्रशासनको सम्पर्कमा रहन आग्रह गरिएको छ।






डिसी नेपाल





Facebook Comment