पारिवारिक विघटन र डिजिटल संस्कृतिको अँध्यारो पक्ष

तोमनाथ उप्रेती
२० असार २०८३ ७:३५

सामाजिक सञ्जाल मानव इतिहासकै सबैभन्दा ठूलो सञ्चार क्रान्ति हो। यसले ज्ञान, सूचना र विचारलाई केही सेकेन्डमै विश्वभर पुर्‍याउने अभूतपूर्व क्षमता प्रदान गरेको छ। यसले लोकतन्त्रलाई नयाँ आवाज दिँदै सामान्य नागरिकलाई समेत आफ्ना विचार सार्वजनिक गर्ने अवसर दिएको छ।

तर, कुनै पनि शक्तिशाली साधनजस्तै यसको दुरुपयोगले समाजमा गम्भीर संकट पनि निम्त्याइरहेको छ। आजको नेपाली सामाजिक वास्तविकतामा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन।

यो भ्रम, घृणा, अश्लीलता, साइबर दुर्व्यवहार, पारिवारिक तनाव, मानसिक अशान्ति र सामाजिक विभाजनको एउटा शक्तिशाली कारक पनि बन्दै गएको छ। डिजिटल युगले प्रविधिको सुविधा त दियो, तर त्यही गतिमा डिजिटल नैतिकताको विकास हुन सकेन। परिणामस्वरूप, सामाजिक सञ्जालले समाजका अनेक कमजोरीलाई अझ तीव्र बनाइरहेको छ।

नेपाल अहिले बेरोजगारीको गम्भीर समस्यासँग जुधिरहेको छ। ठूलो सङ्ख्यामा युवाहरू उत्पादनशील रोजगारीबाट वञ्चित भइरहेका बेला उनीहरूले दिनको लामो समय सामाजिक सञ्जालमै बिताउने गरेका छन्।

सिर्जनात्मक श्रमभन्दा मोबाइलको स्क्रिन उनीहरूको प्राथमिकता बन्ने गरेको छ भने सीप विकासभन्दा अन्तहीन भिडियो हेर्ने बानी बढेको छ। यसले समयको मात्र होइन, व्यक्तिको सम्भावनाको पनि ठूलो क्षति गरिरहेको छ। सामाजिक सञ्जालले सफलता, विलासिता र कृत्रिम जीवनशैलीलाई सामान्यजस्तै गरी प्रस्तुत गर्छ।

बेरोजगार युवाले त्यो चमकधमकपूर्ण जीवनसँग आफ्नो वास्तविक अवस्थाको तुलना गर्छ, जसका कारण असन्तोष, निराशा र हीनभावना बढ्न थाल्छ। यही मानसिक अवस्थाले कालान्तरमा आक्रोश, गालीगलौज र डिजिटल हिंसालाई बढावा दिन्छ।

आज सामाजिक सञ्जालमा सत्यभन्दा सनसनी छिटो फैलिन्छ भने तर्कभन्दा ट्रोलिङ प्रभावशाली बन्ने गरेको छ। यहाँ प्रमाणभन्दा अफवाह धेरै साझा गरिन्छ। एउटा झूटो समाचारले केही घण्टामै लाखौँ मानिससम्म पुगेर कुनै पनि व्यक्तिको प्रतिष्ठा केही मिनेटमै ध्वस्त पार्न सक्छ।

डिजिटल भीडले अनुसन्धान वा विवेकको प्रयोग गर्दैन, उसले केवल सतही प्रतिक्रिया दिन्छ। यसरी सामाजिक सञ्जालले कानुनी र न्यायिक प्रक्रियालाई ओझेलमा पार्दै भीडको निर्णयलाई बलियो बनाउने वातावरण सिर्जना गरिरहेको छ।

चरित्रहत्या अहिले नयाँ मनोरञ्जन बनेको छ भने अपमानलाई अभिव्यक्ति स्वतन्त्रताको नाम दिने र गालीलाई साहस ठान्ने प्रवृत्ति बढेको छ, जुन लोकतान्त्रिक संस्कृतिको गम्भीर पतन हो।

नेपालमा वैदेशिक रोजगारी आर्थिक आवश्यकता बनेका कारण लाखौँ पुरुष र महिलाले परिवार छोडेर विदेश जानुपरेको छ। लामो दूरीले पारिवारिक सम्बन्धमा स्वाभाविक रूपमा चुनौती ल्याउँछ।

यस्तो अवस्थामा सामाजिक सञ्जाल सम्बन्धलाई जोड्ने अचुक माध्यम बन्न सक्थ्यो तर यसको गैरजिम्मेवार प्रयोगले शंका, अविश्वास र गलत बुझाइ अझ बढाएको छ।

नक्कली परिचय, लुकाइएका सम्बन्ध, भ्रामक सन्देश, अत्यधिक डिजिटल निर्भरता र अफवाहले श्रीमान्-श्रीमतीबीच मनमुटाव र तनाव सिर्जना गरेका प्रशस्त उदाहरणहरू देखिन्छन्।

यद्यपि, यस्ता पारिवारिक विवादको कारण केवल कुनै एक पक्ष वा एक लिङ्ग मात्र होइन। विश्वासको कमी, सञ्चारको अभाव, आर्थिक दबाब, लामो दूरी, सामाजिक दबाब र डिजिटल दुरुपयोग सबैले संयुक्त रूपमा यसमा प्रभाव पारेका हुन्छन्।

अश्लील सामग्रीको सहज पहुँच समाजका लागि अर्को गम्भीर चुनौती बनेको छ। आज मोबाइलमा केही क्लिककै भरमा अश्लील भिडियोहरू उपलब्ध हुन्छन्, जसको प्रभावमा किशोरकिशोरीदेखि वयस्कसम्म परिरहेका छन्।

यस्ता सामग्रीले सम्बन्धप्रतिको अवास्तविक र अप्राकृतिक अपेक्षा निर्माण गर्छन्, जसले महिला र पुरुषप्रतिको सम्मानजनक दृष्टिकोणलाई कमजोर बनाउँछ।

यसले यौनिकतालाई जिम्मेवार सम्बन्धभन्दा केवल मनोरञ्जनको वस्तुका रूपमा प्रस्तुत गर्ने हुनाले वैवाहिक जीवनमा असन्तुष्टि, तुलना, अविश्वास र भावनात्मक दूरी बढाउने जोखिम सिर्जना गर्छ। विशेष गरी डिजिटल साक्षरताको कमी भएको हाम्रो जस्तो समाजमा यसको नकारात्मक प्रभाव अझ गम्भीर देखिन्छ।

सामाजिक सञ्जालले परिवारभित्रको आन्तरिक संवादलाई पनि निकै कमजोर बनाइदिएको छ। एउटै घरमा बस्ने मानिसहरू पनि अचेल एकअर्कासँग कम बोल्छन् किनभने सबैको ध्यान आफ्नै मोबाइलमा केन्द्रित हुन्छ।

भोजनको टेबलमा समेत परिवार होइन, मोबाइलको स्क्रिन सँगै बस्छ। बालबालिकाले आमाबुबासँग भन्दा बढी समय डिजिटल सामग्रीसँग बिताउँछन् भने दाम्पत्य सम्बन्धमा पनि प्रत्यक्ष संवाद घट्दै गएको छ। जहाँ संवाद कम हुन्छ, त्यहाँ स्वाभाविक रूपमा शंका बढ्छ। जहाँ शंका बढ्छ, त्यहाँ विवाद सुरु हुन्छ र अन्ततः परिवारको भावनात्मक आधार नै कमजोर हुन पुग्छ।

आज धेरैजसो सामाजिक सञ्जालका एल्गोरिदमहरू उत्तेजक सामग्रीलाई बढी प्राथमिकता दिने गरी क्युरेट गरिएका हुन्छन्। यसले गर्दा विवादास्पद पोस्टहरू धेरै देखिन्छन् र क्रोध उत्पन्न गर्ने सामग्री छिटो फैलिन्छन्।

मानिसले बढी प्रतिक्रिया दिने भएकाले यस्ता सामग्रीलाई प्रणालीले अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउँछ, जसले प्रयोगकर्ताको व्यवहारलाई समेत क्रमिक रूपमा प्रभावित पारिरहेको हुन्छ। क्रमशः मानिसलाई शान्त विश्लेषणभन्दा आक्रामक अभिव्यक्ति सामान्य लाग्न थाल्छ, गाली लोकप्रिय बन्छ, संयम कमजोर हुन्छ र सभ्य संवाद ओझेलमा पर्छ।

नेपालको राजनीतिक वातावरण पनि सामाजिक सञ्जालबाट गम्भीर रूपमा प्रभावित भएको छ। अचेल विचार र सिद्धान्तभन्दा व्यक्तिपूजा बढेको छ भने असहमतिलाई शत्रुता ठान्ने प्रवृत्ति मौलाएको छ। एउटा फरक राजनीतिक मत राखेकै आधारमा व्यक्तिमाथि तल्लो स्तरको व्यक्तिगत आक्रमण गरिन्छ।

सामाजिक सञ्जाल बहसको सभ्य चौतारीभन्दा पनि डिजिटल युद्धभूमि जस्तो देखिन थालेको छ, जसले लोकतान्त्रिक संस्कृतिलाई दिनानुदिन कमजोर बनाइरहेको छ।

यस प्रवृत्तिको सबैभन्दा ठूलो जोखिममा युवा पुस्ता रहेको छ। उनीहरूको आत्मसम्मान अचेल फेसबुक वा इन्स्टाग्रामका लाइक, सेयर र कमेन्टसँग जोडिन थालेको छ। डिजिटल स्वीकृतिलाई नै सामाजिक मूल्यांकनको आधार बनाइँदा एउटा मात्र पनि अपमानजनक टिप्पणीले उनीहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने गरेको छ।

साइबर बुलिइङ, सार्वजनिक अपमान, शरीरको बनावटमाथि टिप्पणी (बडी सेमिङ), लैङ्गिक दुर्व्यवहार र निरन्तरको तुलनाले युवाहरूमा चिन्ता, तनाव र आत्मविश्वासको कमी गराइरहेको छ।

महिलाहरू सामाजिक सञ्जालमा विशेष प्रकारका जोखिमको सामना गरिरहेका छन्। उनीहरूमाथि हुने साइबर उत्पीडन, अश्लील टिप्पणी, नक्कली तस्वीरको निर्माण, अनधिकृत सामग्रीको प्रसारण, चरित्रहत्या र लैङ्गिक अपमानले उनीहरूको डिजिटल सहभागिता र स्वतन्त्रतामै गम्भीर आघात पुर्‍याएको छ।

अर्कोतर्फ, पुरुषहरू पनि आर्थिक दबाब, वैदेशिक रोजगारी, सामाजिक अपेक्षा र डिजिटल तुलना संस्कृतिका कारण उत्पन्न मानसिक तनावबाट गुज्रिरहेका हुन्छन्। त्यसैले, सामाजिक सञ्जालबाट सिर्जित यो समस्या कुनै एक लिङ्गको मात्र होइन, यो सम्पूर्ण समाजकै साझा चुनौती हो।

डिजिटल लतले हाम्रो श्रम संस्कृतिलाई पनि निरन्तर कमजोर बनाइरहेको छ। मानिसहरू उत्पादनशील कामभन्दा सस्तो मनोरञ्जनमा बढी समय खर्च गर्न थालेका छन्।

विद्यार्थीको अध्ययनको समय भिडियो हेरेर बित्छ, कर्मचारीको कार्यालयको समय अनावश्यक स्क्रोलिङमा बित्छ र घरको अमूल्य समय विवादास्पद सामग्रीको खोजीमा बित्छ। यसले व्यक्तिगत उत्पादनशीलता मात्र होइन, राष्ट्रिय उत्पादकत्वलाई नै गम्भीर असर पुर्‍याइरहेको छ। श्रमप्रतिको सम्मान घट्दै जाँदा समाजमा तत्काल प्रसिद्धि कमाउने र सजिलै सफलता पाउने भ्रम र विकृति बढेको छ।

यस भयावह अवस्थाबाट बाहिर निस्कनका लागि विद्यालय तहदेखि नै डिजिटल नागरिकता र डिजिटल नैतिकताको शिक्षा अनिवार्य गरिनुपर्छ। परिवारभित्रै पनि फेसबुक र मोबाइल थाती राखेर सम्मानपूर्ण संवाद गर्ने संस्कारको विकास गरिनुपर्छ।

सञ्चारमाध्यमले भ्युजको पछि नलागी तथ्य परीक्षण (फ्याक्ट चेक) लाई प्राथमिकता दिनुपर्छ भने सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूले आफ्ना पारदर्शी नीतिहरू अपनाउनुपर्छ। सरकारले पनि अभिव्यक्ति स्वतन्त्रताको पूर्ण संरक्षण गर्दै साइबर दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति (हेट स्पिच) र डिजिटल अपराध नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। साथै, प्रत्येक नागरिकले आफूले गर्ने प्रत्येक पोस्ट, प्रत्येक टिप्पणी र प्रत्येक शब्दको नैतिक जिम्मेवारी आफैँले स्वीकार्नुपर्छ।

बौद्ध दर्शनले सम्यक वाचाको शिक्षा दिन्छ भने हिन्दू दर्शनले वाणीलाई तप मानेको छ। इस्लामले सम्मानपूर्ण संवादलाई ईमानको अङ्ग मानेको छ भने इसाई धर्मले प्रेमपूर्ण भाषाको शिक्षा दिएको छ।

विश्वका महान् दार्शनिकहरूले संवादलाई नै सभ्यताको मुख्य आधार मानेका छन्। आजको डिजिटल युगले तिनै नैतिक शिक्षाको नयाँ र अपरिहार्य आवश्यकता महसुस गराएको छ।

सामाजिक सञ्जाल आफैँमा शत्रु वा खराब चिज होइन, यसको गैरजिम्मेवार प्रयोग नै वास्तविक समस्या हो। यदि यसले ज्ञान फैलायो भने समाज उज्यालो बन्छ, तर यदि यसले घृणा फैलायो भने समाज अन्धकारतर्फ धकेलिन्छ।

यदि यसले सत्यलाई बलियो बनायो भने लोकतन्त्र मजबुत हुन्छ, तर यदि यसले झूटलाई पुरस्कृत गर्‍यो भने समाज विभाजित हुन्छ। डिजिटल विकाससँगसँगै डिजिटल नैतिकताको विकास अब अनिवार्य भइसकेको छ।

नयाँ प्रविधिभन्दा ठूलो आवश्यकता नयाँ चेतना हो, नयाँ एपभन्दा ठूलो आवश्यकता नयाँ अनुशासन हो र नयाँ नेटवर्कभन्दा ठूलो आवश्यकता नयाँ संस्कार हो।

जब शब्दहरू सम्मानका माध्यम बन्छन्, तब मात्र समाज सभ्य बन्छ, तर जब शब्दहरू घृणाका हतियार बन्छन्, तब सभ्यता आफैँ घाइते हुन पुग्छ। त्यसैले आजको सबैभन्दा ठूलो राष्ट्रिय आवश्यकता सामाजिक सञ्जालको प्राविधिक विस्तार मात्र होइन, बरु जिम्मेवार डिजिटल संस्कृतिको पुनर्जागरण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *