ईश्वरवादी, अनीश्वरवादी र मध्यममार्गी दर्शनको वैचारिक विमर्श
ईश्वरका बारेमा संसारमा मुख्य गरी दुईवटा धारणाहरू सर्वव्यापी छन्-एउटा ईश्वरवादी र अर्को अनीश्वरवादी। ईश्वरको अस्तित्व स्वीकार गर्नेहरू ईश्वरवादी हुन् भने ईश्वरको अस्तित्वलाई नकार्नेहरू अनीश्वरवादी हुन्।
ईश्वरवादीहरू विभिन्न सङ्गीत, ध्वनि, घण्ट र शङ्खनाद गर्दै मूर्तिहरूको पूजा-अर्चना गर्दछन् भने अर्का थरीले ईश्वरको अस्तित्वलाई सर्वथा स्विकार्दैनन्। यो विवाद संसारमा सदियौँदेखि चलिआएको छ। यसैबीच, ईश्वर ‘छ भने छ र छैन भने छैन’ भन्ने वा यसलाई मानिसको व्यक्तिगत चेतनामा छोडिदिने तेस्रो मध्यममार्गी धारणा पनि छ। मानव सभ्यतालाई डोर्याउने यिनै तीन धारणाहरूको एक-एक गरी चर्चा गर्नु यहाँ सान्दर्भिक देखिन्छ।
ईश्वरवादी चिन्तक र धारणा
ईश्वरवादी धारणाका विचारकहरूका अनुसार ईश्वर अदृश्य रूपमा सर्वत्र विराजमान छन्। उनैले यस चराचर जगत्को सृष्टि, स्थिति र संहार गर्दै निरन्तर पुनरावृत्तिको चक्र सञ्चालन गरिरहेका छन्।
प्राकृतिक संरचनाको निर्माण गरी कहाँ पहाड, कहाँ मैदान, कहाँ हिउँ, कहाँ झरना र कहाँ जङ्गल एवं जडिबुटी राख्ने हो, त्यो सबै ईश्वरले नै तय गरेका हुन्। यस प्रकृतिलाई सुरक्षित राख्न सबैभन्दा चेतनशील प्राणी मानिसको आवश्यकतापछि ‘एडम र इभ’ (आदम र हाउवा) को सृष्टि गरिएको र त्यसपछि सृष्टिको क्रम र पुनरावृत्ति मिलाएर ईश्वर अलप भएको मानिन्छ।
मानिसले सहजै भेट्टाउन नसकोस् भनेर उनी हरेक प्राणीको हृदयभित्रै प्रवेश गरी संसारको रितिथिति र व्यवस्था सञ्चालन गरिरहेका छन्। चाहेको खण्डमा सर्वनाश समेत गर्न सक्ने अपार शक्ति लिएर उनी तीनै लोक र युगमा राज गरिरहेका छन् भन्ने ईश्वरवादी चिन्तकहरूको मत छ।
उनीहरूको भनाइअनुसार सूर्य, चन्द्रमा, सौर्यमण्डल, प्रकृति, धर्ती, आकाश र जन्मेका समस्त मानिस लगायतका प्राणीहरू परमात्माको इच्छा र उपस्थितिबिना केही पनि गर्न सक्दैनन्।
ईश्वरको अकाट्य नियम र विधानविपरीत गएमा आकाश र धर्ती खसेर चकनाचुर हुनेसम्मका संकेतहरू दिएर मानिसलाई आध्यात्मिक दर्शनले अचम्मित पार्ने गरिन्छ।
ईश्वर नै सर्वसत्तावादी हुन् भन्ने प्रवचनहरूका माध्यमबाट यो कुरा प्रमाणित गर्ने प्रयास गरिन्छ। यही जुनी र परजुनीमा सुख पाउनका लागि दिनहुँ ईश्वरकै आराधना गरेर बस्नुपर्छ भन्ने धारणा यसमा रहेको बुझिन्छ।
यही ईश्वर प्राप्तिका लागि संसारमा विभिन्न धार्मिक सम्प्रदायहरू निर्माण भएका छन्। कोही सनातनी, कोही हिन्दू, कोही इसाई, कोही इस्लाम, कोही जैन त कोही जुदायिजम जस्ता धर्म र संस्कृति अपनाउँदै आ-आफ्नो देश अनुसार ईश्वरको पूजा र अर्चना गरिरहेका छन्।
कतिपय अवस्थामा अरूको कुरा नमानी आफ्नै अतिवादी सिद्धान्तमा अडिग रहेर जीवन बिताउने प्रथा पनि चलिआएको छ। कतिपय पण्डित-पुरोहितहरूले आफ्नो जीविकोपार्जनका लागि अनेकौँ आकर्षक श्लोकहरू निर्माण गरी सोझासाझा मानिसहरूलाई छक्याउने गरेको पनि पाइन्छ।
जस्तै, “यो ददाति दानं कृत्वा स्वर्गे झल्लरि मल्लरि” अर्थात् जसले यस जन्ममा दान-पुण्य जस्ता कार्य गर्दछन्, उनीहरूले मरेपछि स्वर्गमा अत्यन्तै सुख पाउनेछन् भनी वाचा गरिन्छ। ईश्वरवादीहरूले आफ्नो यो धारणालाई मजबुत बनाउनका लागि ३३ कोटी देवताहरूको रूप औंल्याएका छन्।
यस विषयमा अनेकौँ महापुराण, पुराण, साहित्य, कथा-कथनहरू र देवलाय एवं मठ-मन्दिरहरू निर्माण गरिएका छन्, जसले आजका र भोलिका पुस्तालाई यथेष्ट प्रमाण र दृष्टान्त दिइरहेका छन्।
यसै विषयमा स्कुल, कलेज, पाठशाला र विश्वविद्यालयहरू नै स्थापित गरी गुरु-शिष्य परम्परा मार्फत आजसम्म यसको द्वन्द्वात्मक चर्चा परिचर्चा भइरहेको छ।
यस अनुसार मानिसले आफूलाई आवश्यक पर्ने हरेक प्राकृतिक तत्वलाई देवताको संज्ञा दिई आफ्नो सुख-सुविधा र रक्षाका हिसाबले पूज्दै आएका छन्। यहाँसम्म कि मृत्यु भइसकेका आफ्ना पूर्वजहरूलाई समेत देवताभन्दा माथिल्लो स्थानमा राखी श्रद्धा, भक्ति र आराधना गर्ने गरिन्छ।
सात पुस्तासम्मका पितृहरूलाई मुक्त गर्नका लागि बर्सेनि श्राद्ध र तीर्थाटन गर्ने चलन छ। आफ्नो गच्छे अनुसार देउ-तीर्थ गर्ने र घरमा पितृकार्य गराउँदै एकैजना पुरोहितलाई पटक-पटक पोसिरहने प्रवृत्ति पनि समाजमा प्रशस्तै भेटिन्छ।
यसरी ईश्वरवादीहरू आफ्नो यस दर्शनलाई संसारकै सबैभन्दा पुरानो सनातनी धर्म र संस्कारको क्रियाकर्म भन्दै हरदम ईश्वरको जप, ध्यान र पूजा-अर्चनामा लीन भइरहन्छन्।
अनीश्वरवादी चिन्तक र धारणा
अर्को बलियो धारणा बोकेका मानिसहरू अनीश्वरवादी हुन्, जो ईश्वर भन्ने नाम नै लिन चाहँदैनन् अर्थात् ईश्वरको अस्तित्वलाई पूर्ण रूपमा अस्वीकार गर्दछन्।
कतिपय दार्शनिकहरूले त अङ्ग्रेजीमा “गड्स इज डेड” अर्थात् ‘ईश्वर मरिसक्यो’ भन्ने उद्घोष नै गरेका छन्, जसको अर्थ ईश्वरको कुनै अस्तित्व नै छैन भन्ने हो। प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको विकासवादी सिद्धान्त अनुसार मानिसको पूर्वज बाँदर थियो।
बाँदरको रूपबाट बिस्तारै विकसित हुँदै, चिम्पान्जीको चरण पार गर्दै र जंगली मानिसको रूप बदल्दै अन्ततः मानिसले वर्तमान रूप धारण गरेको हो र यही मानव जन्मको पुनरावृत्ति संसारमा भइरहेको छ। यो खास गरी विकासवादी चिन्तक, साहित्यकार र वैज्ञानिकहरूको आफ्नै तर्क र शैली हो।
अध्यात्मवादीहरूले मानिसको सृष्टि स्वयं ब्रह्माजीले नारायण परमात्माको आदेश अनुसार गरेको र पछि मानिसहरूको दम्भ, घमण्ड, रिस, डाह, लोभ, मोह र दुष्टता बढेपछि उनीहरूबाट बच्नका लागि देवर्षि नारदको सल्लाहमा मानिसकै हृदयभित्र कसैले देख्न नसक्ने गरी ईश्वर लुकेर बसेको कथा सुनाउँछन्।
तर, यी सबै आध्यात्मिक चर्चालाई अनीश्वरवादीहरू स्वीकार गर्दैनन्। अनीश्वरवादी अर्थात् नास्तिक भन्नाले हामी देवताको अस्तित्व स्वीकार नगर्ने विचारकहरूलाई बुझ्दछौँ। यस्ता विचारकहरूमा पश्चिम युरोपका दार्शनिक कार्ल मार्क्स र जर्मन दार्शनिक फ्रेडरिक नित्से प्रमुख छन्। उनीहरूले तत्कालीन युरोपमा व्याप्त थिचोमिचो, गरिबी, अनिकाल र सामाजिक सङ्कटलाई नजिकबाट नियालेका थिए।
मानिसको दुःख हटाउन र समाज बदल्नका लागि ‘परिश्रम’ नै एकमात्र मुख्य उपाय हो भन्दै उनीहरूले संसारका सारा श्रमिकहरूलाई एक हुन र दमन गर्नेहरूका विरुद्ध विद्रोह गर्न आह्वान गरे। भाग्य र ईश्वरको भरोसामा बाँच्नेहरूले आखिरमा दुःखै पाउने हुन् भन्ने दाबी उनीहरूको दर्शनले गर्दछ।
यस विचारले युरोपको तत्कालीन गरिबी र संकटमा ठूलो राहत मिल्यो र यहीँबाट नास्तिकता अर्थात् अनीश्वरवादी दर्शनको बलियो सूत्रपात भयो। फलस्वरूप संसारमा वैचारिक रूपमा दुईवटा धार निर्माण भए।
ईश्वरवादी र अनीश्वरवादीका दुई फरक धारणाका कारण ईश्वरको अस्तित्व सधैँ विवादमा परिरह्यो र आजसम्म पनि संसारमा यी दुवैका अनुयायीहरू उत्तिकै सङ्ख्यामा बाँचिरहेका छन्।
मध्यममार्गी दर्शन र चिन्तक
यी ईश्वरवादी र अनीश्वरवादी दुई चरम धारणाहरू बीचको जडतालाई मत्थर बनाउन तथा द्वन्द्वात्मक वादविवादलाई पूर्ण रूपमा विश्राम दिनका लागि करिब २६०० वर्षअगाडि नेपालमा महापुरुष गौतम बुद्धको जन्म भयो।
उनको कठोर त्याग र तपस्याबाट प्राप्त नयाँ ज्ञानलाई संसारको चारै दिशामा प्रचार गर्न उनले आफ्ना मुख्य शिष्यहरूलाई पठाए। ती शिष्यहरूले विभिन्न ठाउँमा बौद्ध विहार, मठ, चैत्य र ठूला-ठूला स्तूपहरू निर्माण गरी प्रचारको एउटा बलियो शृङ्खला तयार पारे।
मध्यममार्गी विचारधाराका प्रवर्तक गौतम बुद्ध हुन्, जसले दुवै अतिवादलाई तोडेर व्यावहारिक मार्ग देखाए। उनले ‘ईश्वर छ पनि र छैन पनि’ भन्दै दुवै पक्षका विचारकहरूलाई आ-आफ्नो धारणामा रहन र विवादरहित हुन ठूलो प्रोत्साहन दिए।
उनको धारणा अनुसार ईश्वर मान्नेहरूले पनि आफ्नो स्वकर्म (सत्कर्म) मा लागिरहनुपर्छ र ईश्वर नमान्नेहरूले पनि सोही अनुसार आफ्नै हिसाबले सदाचारमा चल्नुपर्छ। मुख्य कुरा के हो भने, मानिस भएर जन्मिएपछि रिस, राग, ईर्ष्या, द्वेष, लोभ र मोहबाट टाढा रही हिंसा त्याग्नुपर्छ।
त्यसको सट्टामा मनमा दया, माया, करुणा, विवेक र मानव सेवाको भावना ल्याई सोही अनुसारको कर्म गर्दै जानु नै मानिसको परम धर्म हो भनी उनले विस्तृत विवेचना गरेका छन्।
यो मार्ग अवलम्बन गरेमा र यस अनुसार सबैजना चलेमा मात्र संसारमा वास्तविक शान्ति प्राप्त हुन सक्छ भन्ने महान् सन्देश बुद्धले दिए। यस सन्देशले एकातिर अतिवादी धारणा बोकेर हिँडेका ईश्वरवादी र अनीश्वरवादीहरूको चेतनामा हलचल मच्चाइदियो भने अर्कोतिर एसियाका धेरै देशहरू हुँदै आज संसारभरि यसका अनगिन्ती संस्थाहरू स्थापना भएका छन्।
यस दर्शनमा कसैलाई पनि आफ्नो धारणा बनाउन रोकतोक छैन र यो कुरा मान्नैपर्छ भन्ने कडा नियम पनि छैन। आफ्नो ज्ञान र चेतनाले जबसम्म ‘ईश्वर छैन’ भन्ने विचार दिमागमा लागिरहन्छ, तबसम्म व्यक्तिका लागि त्यही धारणा ठीक हुन्छ। तर, जब सम्पूर्ण चेतनाको ढोका खुल्छ र कसैले ईश्वर वा परम तत्वको अनुभूति गर्छ, तब उसको त्यो विचार पनि उत्तिकै सत्य र सही मानिन्छ।
संसारमा मानिसहरूले केवल किताब, भागवत, पुराण, ग्रन्थ, बाइबल वा कुरान पढेर निचोड निकाल्नुभन्दा आफ्नै मन, मस्तिष्क र चेतनाबाट स्वयंको ज्ञान, विवेक र ध्यानद्वारा जे निष्कर्ष निकाल्छन्, त्यही नै उनीहरूका लागि सही मार्ग साबित हुन्छ। कसैको खराब नगर्नु, दुष्ट्याइँ नगर्नु, लोभ-मोहमा नफस्नु, हिंसा नगर्नु, झूटो नबोल्नु तथा ईर्ष्या र घमण्ड नगर्नु नै वास्तविक सत्मार्ग हो।
सुकर्मी र इमानदार बनेर हिँडेपछि त्यहाँ साम्प्रदायिक धर्मको सवाल नै आउँदैन। यसैलाई बुद्ध विचार र सम्यक दर्शन भनिन्छ। यसले कुनै पनि धर्म वा दर्शनको अन्धविरोध गर्दैन र कसैलाई पनि निषेध गर्दैन। बौद्ध विहारमा सबैलाई प्रवेशको स्वतन्त्रता छ, जबकि कतिपय अन्य धर्ममा यस्तो छुट हुँदैन।
यही नै मध्यम मार्गको विशेषता हो। अरू कतिपय धर्मले एकले अर्कोलाई तिरस्कार गर्ने, निषेध गर्ने र एकअर्काको मठ-मन्दिरमा जान-आउन रोक लगाउने गरेकाले नै धर्म र दर्शनका नाममा द्वन्द्व चर्किएको देखिन्छ।
निष्कर्ष
वास्तवमा धर्मसम्बन्धी जड र अतिवादी विचारधाराहरू पूर्ण रूपमा सही हुन सक्दैनन्। दुवै अतिवादी दर्शनका धाराहरू हुन् र दुवै पूर्ण सत्य होइनन्। आ-आफ्नो ठाउँमा दुवैको तर्क सही लागे पनि निरपेक्ष सत्य दुवैमा हुँदैन।
जबसम्म एकले अर्कोलाई तिरस्कार गर्ने र होच्याउने प्रचलन रहन्छ, तबसम्म वास्तविक सत्य सधैँ छिपिरहन्छ। आजको कलियुगमा हीरामोती खोजे जस्तै गरी सत्यलाई खोज्नुपर्ने अवस्था छ।
तसर्थ, आजका विद्वान र प्राज्ञहरू कुनै पनि प्रकारको वैचारिक अतिवादमा नफसी आफ्नो खुसी अनुसार आध्यात्मिक र भौतिकवाद दुवैका सकारात्मक पक्षलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।
जीवनमा आइपर्ने व्यावहारिक समस्याहरूलाई समाधान गर्ने, वर्तमान समयलाई प्राथमिकता दिने र हरेक परिस्थितिलाई सहज रूपमा स्वीकार गर्ने धारणा राख्नु नै उत्तम हुन्छ।
मानव जीवन नश्वर भएकाले शुद्ध मन, पवित्र आत्मा, मीठो बोली, कर्मयोग, ध्यानयोग, भक्तियोग र अष्टाङ्ग योगमा आफ्नो मन लगाएर यो जीवनलाई सुख र आनन्दपूर्वक बिताउनु बुद्धिमानी हुन्छ।
शरीर स्वस्थ, मन शुद्ध र वाणी पवित्र राख्नु नै मानिसको एकमात्र उद्देश्य हुनुपर्दछ। योग र ध्यान कुनै फेसन होइन, यो त मनलाई शान्त र आनन्दित राख्ने अचुक साधन हो। असल कर्मको परिणाम सधैँ असल र खराब कर्मको परिणाम सधैँ खराब नै हुन्छ।
संसारमा राजनीतिका नाममा कहिल्यै द्वन्द्व र झगडा नहुनु, धर्मका नाममा युद्ध नहुनु र मानिसहरू वैचारिक संकीर्णताबाट माथि उठेर आ-आफ्नो खुसीले स्वतन्त्र जीवन बिताउन पाउनु नै संसारको सबैभन्दा उत्तम दर्शन हो।












Facebook Comment