भग्नावशेषमा ३ दिनसम्म आफ्नै परिवार खोजिरहेका अर्जेन्टिनी फुटबलरले गुमाए श्रीमती र दुई सन्तान

डिसी नेपाल
१६ असार २०८३ १२:३५

काठमाडौं ।भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पले अर्जेन्टिनी डिफेन्डर लुकास ट्रेहोको हासिखेली संसारलाई छिनभरमै उजाड बनाइदिएको छ। भेनेजुएलाको दोस्रो डिभिजनको क्लब ‘क्लब स्पोर्ट मारिटिमो डे ला गुएरा’ बाट व्यावसायिक फुटबल खेल्ने ३८ वर्षीय भेट्रान खेलाडी ट्रेहोले यस प्राकृतिक विपत्तिमा आफ्नी श्रीमती र दुई साना सन्तानलाई सधैँका लागि गुमाएका छन् ।

भूकम्प गएको समयमा उनी आफ्नो टोलीसँग ‘कोपा भेनेजुएला’ खेलको तयारीका लागि राजधानी काराकासमा रहेका थिए। तटीय प्रान्त ला गुएरास्थित उनीहरूको आवासीय भवन पूर्ण रूपमा ध्वस्त भएको खबर सुन्नासाथ उनी तुरुन्तै घटनास्थल पुगेका थिए, तर त्यहाँ पुग्दा उनको घरको नामोनिसान बाँकी थिएन।

ट्रेहोले सामाजिक सञ्जालमा भावुक अपिल गर्दै आफ्ना प्रियजनहरू सकुशल होउन् भनी प्रार्थना गर्न सबैसँग आग्रह गरेका थिए । उनले अग्निनियन्त्रक, उद्धारकर्मी र स्वयंसेवकहरूको सहयोगमा लगातार ७४ घण्टा (तीन दिन) सम्म आफ्नै हातले भग्नावशेष पन्छाउँदै श्रीमती र छोराछोरीको खोजी गरिरहेका थिए ।

अन्ततः आइतबार (२८ जुन) का दिन उद्धार टोलीले भग्नावशेषको गहिराइबाट ट्रेहोकी श्रीमती यानिना मारेनेला, छोरा आरोन र छोरी आइनहोआको निर्जीव शव बाहिर निकालेपछि उनीहरू जीवितै भेटिने आशा निराशामा परिणत भयो।

ट्रेहोका साढुभाइ रिकार्डो आर्डिलेसका अनुसार, भूकम्पको केन्द्रविन्दु नजिकै समुद्री किनार (प्लाया ग्रान्डे) मा रहेको त्यो बहुमन्जिला भवन तासको पत्ता झैँ ढलेको हुनाले त्यहाँको दृश्य अत्यन्तै भयावह र हृदयविदारक थियो। यस अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै मारिटिमो क्लबका साथै भेनेजुएलाको शीर्ष डिभिजन क्लब ‘डेपोर्टिभो ला गुएरा’ ले आधिकारिक शोक वक्तव्य जारी गरेको छ ।

क्लवले समवेदना प्रकट गर्दै लेखेको छ – “लुकास, तपाईं यस कठिन घडीमा एक्लो हुनुहुन्न, पूरै फुटबल जगत तपाईंको साथमा छ” । यो भूकम्पले केवल ट्रेहोको मात्र होइन, भेनेजुएलाको पूरै खेलकुद समुदायलाई गहिरो चोट पुर्‍याएको छ। अर्का स्थानीय फुटबल खेलाडी हेक्टर बेलोकी श्रीमती एन्ड्रियाले आफ्नो ज्यान आहुति दिएर १ वर्षकी छोरी एलानालाई बचाउन सफल भएकी छिन् भने काराकास फुटबल क्लब र सेन्ट अगस्टिन एकेडेमीका केही प्रतिभावान युवा खेलाडीहरूको समेत यस विपत्तिमा मृत्यु भएको पुष्टि भएको छ।

संयुक्त राष्ट्रसंघ र स्थानीय विपद् व्यवस्थापन निकायका अनुसार गत जुन २४ मा आएको ७.२ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हालसम्म १,७१९ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सञ्चार र यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएका कारण स्वतन्त्र डिजिटल डेटाबेसमा अझै पनि करिब ५१,००० भन्दा बढी मानिसहरू बेपत्ताको सूचीमा रहेका छन्, जसले गर्दा आगामी दिनमा मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *