ठमेलको सडकमा अश्लील मोलमोलाई र अभद्र व्यवहार: ५ विदेशी महिला प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१८ असार २०८३ ६:४०

काठमाडौं। राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र ड्युटीमा रहेका प्रहरीमाथि नै दुर्व्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिला पक्राउ परेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा चार जना युगान्डाका र एक जना इन्डोनेसियाका नागरिक रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका-२६, ठमेलस्थित सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकहरूलाई ती महिलाहरूले अनावश्यक रूपमा बाटो छेक्ने गरेका थिए।

उनीहरूले पर्यटकहरूलाई दुःख हैरानी दिँदै अश्लील क्रियाकलापका लागि मोलमोलाई गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

सडकमा अभद्र व्यवहार गरिरहेका उनीहरूलाई कार्यक्षेत्रमा खटिएको प्रहरी टोलीले सम्झाइबुझाइ गर्ने कोसिस गरेको थियो। तर, उल्टै प्रहरी टोलीमाथि नै अभद्र र दुर्व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

पक्राउ परेका पाँचै जना विदेशी महिलामाथि प्रहरीले हिरासतमा राखेर थप कानुनी अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *