रुसको भीषण हमलापछि ४० हजारभन्दा बढी किभवासीले मेट्रो स्टेशनमा रात बिताए
काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक हवाई आक्रमण गरेपछि त्यहाँका स्थानीय बासिन्दाहरूले सुरक्षाका लागि भूमिगत मेट्रो स्टेशनहरूमा रात बिताएका छन्।
रुसले लगातार ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र आत्मघाती ड्रोनहरू प्रयोग गरी आक्रमण तीव्र बनाएपछि किभका ४० हजारभन्दा बढी नागरिकहरू आफ्ना बालबालिका, घरपालुवा जनावर र अत्यावश्यक सामानसहित सुरक्षित आश्रयस्थलका रूपमा रहेका गहिरा मेट्रो स्टेशनहरूमा ओर्लिएका हुन्।
युक्रेनी वायुसेनाले सम्भावित भीषण हवाई आक्रमणको चेतावनी दिएलगत्तै किभभरि खतराको साइरन बजेको थियो। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुप्तचर निकायको प्रतिवेदनलाई उद्धृत गर्दै मस्कोले ठूलो आक्रमणको तयारी गरिरहेको भन्दै नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेका थिए।
साइरन बजेलगत्तै मध्य र पूर्वी किभका बासिन्दाहरू हतार-हतार भूमिगत स्टेशनतर्फ भागेका थिए। आक्रमणको त्रासका कारण धेरैजसो बासिन्दाहरूले स्टेशनको भुइँमै ओछ्यान लगाएर, भर्याङ र प्लेटफर्ममै बसेर रात कटाएका छन्।
किभ मेट्रो प्रशासनका अनुसार राजधानीका सबै ४६ वटा भूमिगत मेट्रो स्टेशनहरूलाई २४सै घण्टा सर्वसाधारणका लागि खुल्ला राखिएको छ। आक्रमणको समयमा स्टेशनहरूमा अत्यधिक भीड बढेपछि प्रशासनले वैकल्पिक र कम भीड भएका केन्द्रहरूमा जान नागरिकहरूलाई आग्रह गरेको थियो।
भूमिगत स्टेशनहरूमा तापक्रम १७ देखि १८ डिग्री सेल्सियस रहने भएकाले मानिसहरूलाई न्यानो कपडा, कम्बल र म्याटहरू सँगै ल्याउन सल्लाह दिइएको थियो। स्टेशनभित्र शरण लिइरहेका स्थानीय बासिन्दाहरूले रातभरि भूमिगत संरचनाभित्रै बसेर मोबाइल फोनमार्फत बाहिर भइरहेको क्षतिको विवरण हेरिरहेका थिए।
जमिनमुनि निकै गहिराइमा भए पनि माथि भइरहेका विष्फोटका ठूला आवाजहरू स्पष्ट सुनिने गरेको र त्यसले मानिसहरूलाई निकै त्रसित बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मानिसहरूले आफ्ना साना बालबालिकाहरूलाई फकाउन र डर कम गर्नका लागि मोबाइलमा भिडियो देखाउने तथा सँगै ल्याएका खेलौनाहरू खेलाउने गरिरहेका देखिन्थे।
मेट्रो स्टेशनहरूमा मानिसहरू सुरक्षित रहे तापनि जमिनमाथि रुसी मिसाइल र ड्रोनहरूले ठूलो विनाश निम्त्याएका छन्। किभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर त्काचेन्कोले रुसको यो संयुक्त हवाई आक्रमणले राजधानीका सबै १० वटा जिल्लाहरूलाई प्रभावित पारेको बताएका छन्।
आक्रमणका कारण विभिन्न आवासीय भवनहरूमा आगलागी भएको छ भने कतिपय बहुतले भवनहरू आंशिक रूपमा भत्किएका छन्। किभका मेयर भिटाली क्लित्स्कोले टेलिग्राममार्फत जानकारी दिँदै यस भीषण आक्रमणमा परी कम्तीमा ८ जना सर्वसाधारणको मृत्यु भएको र ३० भन्दा बढी मानिसहरू घाइते भएको बताएका छन्।
घाइते हुनेहरूमा पाँच जना स्वास्थ्यकर्मीहरू समेत रहेका छन्, जसमध्ये एक जना प्यारामेडिकको अवस्था निकै गम्भीर रहेको जनाइएको छ। शेभचेन्किभ्स्की जिल्लामा रहेको एक एम्बुलेन्स स्टेशन र दार्नित्स्या जिल्लाका आवासीय घरहरूमा मिसाइलका टुक्राहरू खस्दा ठूलो क्षति पुगेको छ। उद्धारकर्मीहरूले रातभरि भत्किएका भवनका भग्नावशेषबाट मानिसहरूको उद्धार गरेका छन्।
रुसले हालैका हप्ताहरूमा युक्रेनका सांस्कृतिक सम्पदा, ऊर्जा पूर्वाधार र नागरिक बस्तीहरूलाई निशाना बनाउँदै आएको छ। युक्रेनले पनि रुस भित्रका तेल प्रशोधन केन्द्रहरूमा ड्रोन आक्रमण गरेर इन्धन संकट पैदा गरिदिएपछि रुस अझ बढी आक्रामक बनेको रक्षा विश्लेषकहरूले बताएका छन्।
कूटनीतिक प्रयासहरू असफल भइरहेका बेला किभवासीहरूका लागि यस्ता भयानक रातहरू सामान्य जस्तै बन्न थालेका छन्, जसले गर्दा उनीहरूको दैनिक जीवन पूर्ण रूपमा अनिश्चित बनेको छ।






डिसी नेपाल





Facebook Comment