कार्गोमार्फत अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुनचाँदी जस्तो देखिने गहनासहित दुई जना पक्राउ

डिसी नेपाल
१८ असार २०८३ १०:५०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले कार्गोमार्फत अवैध रूपमा संयुक्त राज्य अमेरिका पठाउन लागिएको सुन तथा चाँदीजस्ता देखिने धातुका विभिन्न गरगहना बरामद गरेको छ।

यस अवैध कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना व्यवसायीलाई समेत नियन्त्रणमा लिएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे कार्गो कम्प्लेक्स भवनमा नियमित जाँचका क्रममा उक्त अवैध सामग्री फेला परेको हो।

एपेक्स लजिस्टिक प्रालिको माध्यमबाट अमेरिका पठाउन लागिएको एउटा कार्गो बाकसलाई एक्स-रे मेसिनमा परीक्षण गर्दा शङ्कास्पद दृश्य देखिएपछि प्रहरीले त्यसलाई खोलेर गहिरो अनुसन्धान गरेको थियो।

उक्त बाकसको भन्सार कागजात (मेनिफेस्ट) मा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू मात्र रहेको उल्लेख गरिए पनि भित्र जाँच गर्दा कागजातमा नलुकाइएका ठुलो परिमाणका परम्परागत नेपाली गरगहनाहरू फेला परेका थिए।

बरामद गरिएका गहनाहरूमा २२ थान ठुला र ४४ थान साना नौगेडी, १४ थान २१ गेडी भएका नौगेडी, १६ थान चन्द्रमा, २० थान जन्तर, १८-१८ थान सिङ्गल र डबल ब्रोच रहेका छन्।

त्यसै गरी ५ थान ठुला र २ थान साना शिरफूल, नेपालको झन्डा अङ्कित १६ थान ब्रोच, २३ थान खुकुरी आकारका ब्रोच, १८ थान मङ्गलसूत्र, ३९ थान मोतीमाला, १ थान रानीहार तथा १ थान त्रिशूल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त प्रतिबन्धित र अवैध सामग्रीहरू बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिक प्रालिको कार्यालय हुँदै काठमाडौँबाट अमेरिका पठाउने तयारी गरिएको खुलेको छ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाललाई पक्राउ गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयले बरामद गरिएका धातुका गरगहना र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *