जीवित गिलको उद्धार अन्तिम चरणमा
काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी जुम्ल्याहा भूकम्पको एक सातापछि पनि साततले भवनको भग्नावशेषमुनि जीवित रहेका ४३ वर्षीय सुरक्षा गार्ड हर्नान गिलको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ ।
सात देशका सयौँ उद्धारकर्मीले लगातार तीन दिनदेखि चौबीसै घण्टा सञ्चालन गरेको अभियानपछि बुधबार साँझसम्म उनीहरू गिलको अवस्थिति रहेको स्थानबाट करिब एक मिटरको दूरीमा पुगेका थिए ।
गिल जुन २४ मा आएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पका बेला तटीय क्षेत्र काटिया ला मारस्थित आफू कार्यरत भवनको सुरक्षा बुथभित्र फस्नुसेका थिए । भेनेजुएला, चिली, संयुक्त राज्य अमेरिका, पोर्चुगल, कोस्टा रिका, एल साल्भाडोर र मेक्सिकोका उद्धार टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।
चिलीको फायर सर्भिसले सार्वजनिक गरेको भिडियोमा गिलले टाउको चलाइरहेको देखिएको छ । उनले अनुहारमा मास्क लगाएका थिए भने दाहिने आँखामा चोटका कारण रगत देखिएको थियो ।
उनकी श्रीमती गुस्बिमार गोन्जालेजले यति धेरै देश एकजना व्यक्तिको उद्धारका लागि एकसाथ जुटेको दृश्य आफूले पहिलो पटक देखेको बताउँदै यसलाई चमत्कारजस्तै अनुभव भएको प्रतिक्रिया दिइन् ।
भूकम्पमा करिब दुई हजार ३०० जनाको मृत्यु भइसकेको छ भने हजारौँ मानिस अझै बेपत्ता रहेकाले उद्धार कार्य निरन्तर जारी छ । गिलसम्म सुरक्षित रूपमा पुग्न उद्धारकर्मीहरूले थप क्षति हुन नदिन भवनको जगलाई काठ र फलामले मजबुत बनाएका छन् । अभियानका क्रममा उनलाई पानी उपलब्ध गराइएको छ भने हावाको आपूर्तिका लागि विशेष ट्युबसमेत जडान गरिएको छ ।
उद्धार टोलीले दुई फरक दिशाबाट एकैसाथ मार्ग बनाएर अघि बढिरहेको जनाएको छ । चिलीको उद्धार टोलीका नेता क्रिस्टियन भेराका अनुसार भवनभित्र रहेका ठूला स्तम्भ र अस्थिर संरचनाका कारण गिलसम्म पुग्न निकै कठिन भएको छ ।
मङ्गलबार भवन केही सरेपछि सुरुमा बनाइएको ६० गुणा ६० सेन्टिमिटरको सुरुङमार्गको योजना त्यागेर नयाँ रणनीतिअनुसार उद्धार कार्य अगाडि बढाइएको उहाँले बताए ।






डिसी नेपाल





Facebook Comment