कविता : श्रापित जिन्दगी
ऊ पागलजस्तै भएको छ,
आस्थाको दाम्लो चुँडिएपछि;
म घायल भएको छु,
सम्झौताको बत्ती निभेपछि ।
दोषजति मलाई थोपरेर
सारिका पानीमाथिको ओभानो बन्छे;
स्वतन्त्रताको चरम दुरुपयोग गरी
मेरो आत्मसम्मानमा प्रहार गर्छे ।
मेरो यात्रामा ठेस पुर्याएर
एकल यात्रा जारी राख्छे;
उसलाई थाहै छैन—
एक हातले ताली नबज्ने कुरा,
ऊ एक हातले
ताली बजाउने धृष्टता गर्छे ।
ऊ शिथिल छ
ऐश्वर्यको दम्भ बढेपछि;
उसलाई रौँसमान मात्रै ठानेर
उसको स्वाभिमान लुटिएको छ ।
सङ्गै गर्ने भनिएको यात्रा
सहमतिविपरीत
एक्लै गरिएको छ;
ऐश्वर्य हठी महिला हो,
एकलकाँटे मादल बोकेर
दोहोरी गाउन सकिँदैन,
ऊ एकलकाँटे मादल बोकेरै
दोहोरी गाउने धृष्टता गर्छे ।
उसको र मेरो जीवन–यात्रा
अक्करको साँघुरो बाटोझैँ
साँघुरिन बाध्य छ;
हामी लाचार छौँ विवश जिन्दगी जिउन,
हामीमाथि शोषण गरिएको छ ।
अग्नि साक्षी राखी गरिएको वाचा
खरानी भएको छ;
सारिका र ऐश्वर्यको अहङ्कारले
घरबार तहसनहस भएको छ ।
वृद्ध बा–आमा रोई बस्छन्,
आँसु पुछिदिने कोही छैन;
हामी जोइटिङ्ग्रे बनाइएका छौँ,
हामीसँग रित्ता हातबाहेक केही छैन ।
मान्छेहरू रमिते बनेका छन्
हाम्रो पीडामा पीडा व्यक्त नगरी;
संवेदना गुमाएका छन्
जिउँदो मुर्दा सरी ।
मान्छेहरू सुस्केरा हाली बस्छन्
अर्धचेत मान्छे जस्तो;
हामी श्रापित जिन्दगी बाँचिरहेछौँ
आमा-बाका आँसु पुछ्नै नसकी ।












Facebook Comment