वासिङ्टन डिसीमा इतिहासकै भव्य आतिशबाजी, देशभर उत्सवको माहौल
वासिङ्टन डिसी। संयुक्त राज्य अमेरिका स्थापना भएको २५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा देशभर अभूतपूर्व हर्षोल्लासका साथ ‘क्वार्टर-मिलेनियम’ (साढे दुई सय वर्ष) को उत्सव मनाइएको छ।
सन् १७७६ जुलाई ४ मा बेलायती औपनिवेशिक शासनबाट स्वतन्त्रताको घोषणा गरेको अमेरिकाले यस पटकको रजत जयन्तीलाई सैन्य प्रदर्शन, अत्याधुनिक लडाकु विमानहरूको एयर शो र इतिहासकै विशाल आतिशबाजीका साथ भव्य रूपमा मनाएको हो।
राजधानी वासिङ्टन डिसीस्थित नेसनल मल ऐतिहासिक आतिशबाजी (फायरवर्क्स) ले जगमगाएको छ। ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यस ऐतिहासिक ऐतिहासिक माइलस्टोनका अवसरमा राष्ट्रका नाममा विशेष सम्बोधन गरेका थिए।
सम्बोधन लगत्तै राजधानीको आकाशमा इतिहासकै सबैभन्दा ठूलो र लामो समयसम्म चल्ने आतिशबाजी प्रदर्शन गरिएको थियो, जसलाई हेर्न लाखौंको संख्यामा नागरिकहरू उपस्थित भएका थिए।
उत्सवको मुख्य आकर्षण राजधानी वासिङ्टन डिसी र न्यूयोर्कमा आयोजना गरिएको भव्य ‘एयर शो’ र ‘फ्लाइओभर’ बनेको थियो। अमेरिकी वायुसेनाका अत्याधुनिक लडाकु विमानहरू एफ-२२, एफ-३५ , बी-१ बम्बर र भर्खरै मर्मत तथा आधुनिकिकरण गरिएको ‘एयर फोर्स वान’ ले वासिङ्टनको आकाशमा अत्याधुनिक हवाई शक्तिको प्रदर्शन गरेका थिए। अमेरिकी नौसेनाको प्रख्यात ‘ब्लु एन्जिल्स’ र वायुसेनाको ‘थन्डरबर्ड्स’ टोलीले वासिङ्टन मोनुमेन्टमाथि सानदार र असाधारण हवाई कलाहरू प्रदर्शन गरेका थिए।
राजधानी बाहिर पनि देशका प्रमुख सहरहरूमा उत्सवको रौनक निकै भिन्न देखिन्थ्यो। अमेरिकाको स्वतन्त्रताको घोषणापत्र जारी गरिएको ऐतिहासिक सहर फिलाडेल्फियामा भव्य परेड र सांस्कृतिक झाँकीहरू निकालिएका थिए भने मियामीमा देशका प्रख्यात कलाकारहरूको सहभागितामा साङ्गीतिक कन्सर्टको आयोजना गरिएको थियो।
न्यूयोर्कको आकाशमा अमेरिकी लडाकु विमानहरूसँगै फ्रान्सेली वायुसेनाको ‘पात्रुइल द फ्रान्स’ टोलीले समेत मैत्रीपूर्ण फ्लाइपास्ट गर्दै अमेरिकाको २५०औं स्वतन्त्रता दिवसप्रति ऐक्यबद्धता जनाएको थियो।
गर्मीको तीव्र लहर (हिट वेभ) का बावजुद पनि अमेरिकी नागरिकहरूको उत्साहमा कुनै कमी आएको थिएन। २५०औं स्वतन्त्रता दिवसको यस ऐतिहासिक अवसरमा २५०० भन्दा बढी ड्रोनहरूको प्रयोग गरी आकाशमा देशको नक्सा, झण्डा र राष्ट्रिय प्रतीकहरू निर्माण गरेर विशेष ‘ड्रोन शो’ समेत प्रदर्शन गरिएको थियो।
देशका सबै ५० वटै राज्यहरूमा परेड, खेलकुद तथा ऐतिहासिक कार्यक्रमहरू आयोजना गरी अमेरिकाले आफ्नो साढे दुई सय वर्षको यात्रा, लोकतान्त्रिक मूल्य र रक्षा शक्तिको बलियो प्रदर्शन गरेको छ।






डिसी नेपाल





Facebook Comment