वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरू दुवै जनालाई उक्त रकम ठगी गरेको अभियोगमा शनिबार पक्राउ गरिएको हो।
अभियुक्त पन्तले एक जना बेरोजगार युवकलाई आकर्षक वैदेशिक रोजगारीका लागि आयरल्यान्ड पठाइदिने प्रलोभनमा पारेर १६ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै, अर्का अभियुक्त खत्रीले दुबई पठाउने बहाना बनाएर छ जना व्यक्तिहरूबाट २३ लाख रुपैयाँ असुल गरेका थिए। पक्राउ परेका दुवै अभियुक्तहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, मुलुकका विभिन्न स्थानमा नियमित गस्तीमा रहेको प्रहरी टोलीले अवैध लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाका विभिन्न ठाउँबाट उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment