अन्तरजातीय विवाह गरेका २५ जोडीलाई मालिका गाउँपालिकाले सम्मान गर्‍यो

डिसी नेपाल
२२ असार २०८३ ९:१३

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ।

लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा ती २५ जोडीलाई प्रतिजोडी रु ३,५०० नगद दिएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद रहेको भन्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेर विभेद अन्त्यको सन्देश दिन कार्यक्रम गरिएको बताए। उनका अनुसार सदियौँदेखि रहेको जातीय विभेद हटाउन सबैले भूमिका खेल्नुपर्छ। सातै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका जेष्ठदेखि युवा जोडीसम्मलाई सम्मान गरेर समानता र सद्भावको सन्देश दिन खोजिएको उनले बताए।

दरवाङमा भएको कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्षहरू उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं. १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटालगायतले जोडीहरूलाई सम्मान गरे।

कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसा भोगिरहेका जोडीलाई सम्मानले हौसला दिने बताइन्। गाउँपालिकाले यस्तो कार्यक्रम पहिलो पटक गरेको पनि उनले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *