श्रीमतीको हत्या गरी ७ वर्षदेखि फरार रहेका श्रीमान पक्राउ
सप्तरी। सप्तरीमा आफ्नै श्रीमतीको हत्या गरी सात वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाइन नगरपालिका–४, सिल्हटका २५ वर्षीय रुन्जे सदा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, अभियुक्त सदालाई प्रहरीले शनिबार उनकै घर सिल्हटामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
रुन्जे सदामाथि आफ्नी २२ वर्षीया श्रीमती गीता देवी सदाको २०७६ पुस १७ गते राति १२ बजेको समयमा हत्या गरेको आरोप छ। प्रहरीका अनुसार, दम्पतीबाट जन्मिएकी छोरीको असामयिक मृत्यु भएपछि सोही विषयलाई लिएर उनीहरूबीच विवाद हुँदै आएको थियो। सोही विवादका कारण रुन्जेले श्रीमतीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको र घटनालाई आत्महत्या जस्तो देखाउन डोरीमा झुन्ड्याएको अनुसन्धानबाट खुल्न आएको छ।
घटनापछि फरार रहेका सदाविरुद्ध मृतक गीताका बुवा सुकराती सदाले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका रुन्जे सदालाई सप्तरी जिल्ला अदालतमा पेस गरी अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमराज घिमिरेले जानकारी दिए।











Facebook Comment