सुदूरपश्चिम स्तरीय एकल लोक गायन प्रतियोगिता सम्पन्न
महेन्द्रनगर । कञ्चनपुर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कञ्चनपुर शाखाको आयोजनामा सुदूरपश्चिम स्तरीय एकल लोक गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष सरस्वती जिसीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
उक्त प्रतियोगितामा प्रथम स्थान कैलालीका दीपा बम ठकुरीले हात पार्न सफल भएकी छन् । यसैगरी द्वितिय स्थान अछामका धनराज तिमिल्सेनाले हासिल गर्दा बैतडीका राजेन्द्र दयाल तृतीय भएका छन्।
कार्यक्रममा लोकसंगीतप्रेमी, कलाकार, साहित्यकार, सांस्कृतिककर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट आएका लोकगायक तथा लोकगायिकाहरूले सहभागिता जनाएका थिए।
प्रतियोगीहरूले मौलिक लोकभाका, डेउडा तथा सुदूरपश्चिमको सांस्कृतिक पहिचान झल्किने गीतहरू प्रस्तुत गर्दै आफ्नो उत्कृष्ट गायन प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामचन्द्र नेपालले लोककला र लोकसंस्कृति नेपाली समाजको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, संवद्र्धन र पुस्तान्तरणका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले युवा पुस्तालाई लोकसंगीतप्रति आकर्षित गर्न निरन्तर यस्ता कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए। सभाध्यक्ष सरस्वती जिसीले प्रतिष्ठानले लोकभाका, लोकसंस्कृति र मौलिक कलाको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरिन्।
उनले प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकार, निर्णायक, सहयोगी संस्था तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरिन्।
आयोजकका अनुसार प्रतियोगिताले प्रदेशभरका प्रतिभाशाली कलाकारहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सुदूरपश्चिमको समृद्ध लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।






डिसी नेपाल





Facebook Comment