सद्गुरु एलपी भानु शर्मालाई अमेरिकामा ‘स्टार ह्युमेनिटेरियन अवार्ड २०२६’ प्रदान
काठमाडौं। जीवन विज्ञानका संस्थापक एवं विश्वप्रसिद्ध आध्यात्मिक सद्गुरु श्री एलपी भानु शर्मा ‘स्टार ह्युमेनिटेरियन अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। अमेरिकाको भर्जिनियामा यही जुलाई ५ मा आयोजित एक विशेष समारोहका बीच स्टार स्कलर्स नेटवर्कले उनलाई सो अवार्ड प्रदान गरेको हो। समारोहमा लि युनिभर्सिटीका अन्तर्राष्ट्रिय उच्च शिक्षा निर्देशक डा. रोय वाइ चानले सद्गुरु शर्मालाई उक्त सम्मान हस्तान्तरण गरे।
स्टार स्कलर्स नेटवर्कको वेबसाइटका अनुसार यो संस्थाले प्रदान गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मानहरूमध्येकै सर्वोच्च पुरस्कार हो।
सद्गुरु शर्माले स्वजागरण, सजगता एवं ध्यानका माध्यमबाट विश्व समुदायको सुख, शान्ति, समृद्धि, आरोग्य, मानव मर्यादाको पुनर्स्थापना तथा व्यक्तिको आन्तरिक रूपान्तरणका लागि पुर्याएको दूरदर्शी नेतृत्वको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। समारोहमा स्टार स्कलर्स नेटवर्कको ‘ग्लोबल कनेक्सन अवार्ड’का अध्यक्ष डा. किथ राइटले अवार्डको महत्त्व र सद्गुरु शर्मालाई चयन गर्नुको आधारबारे प्रकाश पारेका थिए।
विश्व मानवताको हित र कल्याणमा निरन्तर क्रियाशील प्रतिष्ठित व्यक्तित्वहरूलाई सन् २०२४ देखि यो सम्मान प्रदान गर्न थालिएको हो। यसअघि सन् २०२४ मा श्रीलंकाली मूलका बेलायती वैज्ञानिक अनुसन्धाता अर्जुने सेन र सन् २०२५ मा नेपालका विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत यस अवार्डबाट सम्मानित भइसकेका छन्।
सद्गुरु भानु शर्मा सम्मानितभएको उक्त समारोहमा उनकी धर्मपत्नी एवं जीवन विज्ञान गुरुकुल नेपालकी संरक्षक देवी शर्माको पनि उपस्थिति रहेको थियो। यसैगरी स्टार स्कलर्स नेटवर्कका अध्यक्ष डा. उत्तम गौली, नेटवर्कका प्रतिनिधिहरू, अमेरिकाका विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू, सूचना प्रविधि क्षेत्रका वैज्ञानिकहरू, जीवन विज्ञान अमेरिकाका प्रतिनिधिहरू तथा नेपाली एवं गैरनेपाली मूलका सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।
विश्वभरका ११५ देशका २ हजार ३ सय ५३ विश्वविद्यालयका ३३ हजारभन्दा बढी अनुसन्धाता, शोधकर्ता, वैज्ञानिक र प्राध्यापकहरू यस वैश्विक सञ्जाल (स्टार स्कलर्स नेटवर्क) मा आबद्ध छन्।
विश्वका ८० भन्दा बढी मुलुकका नेपाली तथा गैरनेपालीभाषी समुदायबीच विगत १५ वर्षदेखि जीवन विज्ञान प्रतिष्ठान नेपालले निरन्तर काम गर्दै आएको छ। हाल अमेरिका, बेलायत, क्यानडा र कतारमा रहेका आफ्ना शाखाहरूमार्फत संस्थाले साधना, नेतृत्व विकास र आर्थिक समुन्नतिका सूत्रहरू समेटिएका सात दिवसीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
योग र ध्यानका माध्यमबाट व्यक्तित्व रूपान्तरणका लागि आयोजना गरिने यस्ता गहन साधना तथा अभ्यास कार्यक्रमहरूमा जीवन विज्ञानका संस्थापक सद्गुरुद्वय स्वयं उपस्थित भई सहजीकरण गर्ने गरेको जीवन विज्ञान अमेरिकाले जनाएको छ।






डिसी नेपाल





Facebook Comment