कविता : लाचारीको राप
सलाईमा कोरेको
सानो झिल्को
एकाएक
ज्वाला बन्यो,
कसैको छोरा
त्यसैमा जल्यो !
आशा गर्छु-
जलेन होला
त्यो ज्वालाले
इच्छा, आकांक्षा र
चाहना,
सोच्दै छु-
कति कठिन
थिए
जीवनका संघर्ष
सलाई कोर्नेलाई !
कठै…..!!
मेरो अवस्था
अनि मेरो देश !
के छ खै..?
विकल्प
टुलुटुलु
हेर्नुबाहेक..!!
शरीर भारी
छ,
मन गरौँगो
छ,
छाला खुइलिँदै
गर्दा
दन्दनी राप
हाँसिरहेछ-
लाचार देखेर
जनजनलाई !
मनभित्र
अगणित
सपना थिए,
ती सबै आज
धुवाँसँगै
बलिरहे !
छटपटिएर
भुइँमा बजारिँदा,
आँसुका धारा
खै कहाँ गए ?
ऊ जल्यो
तर………..
रमिते भएँ म……..
उसको इच्छा
जल्यो तर…….
टुलुटुलु हेरिरहेँ म…..॥
प्रतिक्रिया












Facebook Comment