स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो

डिसी नेपाल
३० असार २०८३ १९:०७

एजेन्सी। स्पेनका युवा स्टार लामिन यामालले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार डलास स्टेडियममा फ्रान्ससँग हुने खेलअघि आफूले दबाब महसुस नगरेको बताएका छन्। उक्त प्रतिस्पर्धालाई करिअरकै सबैभन्दा ठूलो चुनौतीलाई उत्साहका साथ स्वीकार गरिरहेको बताएका छन्।

स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेपछि पहिलो पटक फिफा विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ। उता फ्रान्स सन् २०१८ मा विश्वकप जितेपछि र २०२२ मा उपविजेता बनेपछि लगातार तेस्रो पटक विश्वकप फाइनलमा पुग्ने प्रयासमा रहेको छ।

खेलको महत्व अत्यन्त ठूलो भए पनि यामालले आफूलाई कुनै दबाब नभएको स्पष्ट पारे। फिफाका अनुसार, खेलअघिको पत्रकार सम्मेलनमा यामालले भने, ‘हामी कठिन परिस्थितिसँग कसरी जुध्ने भन्ने राम्रोसँग जान्दछौं। दबाबको कुरा गर्दा, म कुनै दबाब महसुस गर्दिनँ।’

बार्सिलोनाका फरवार्ड यामालले पछिल्ला प्रदर्शनबारे भइरहेको आलोचनालाई स्वीकार गर्दै सेमिफाइनल आफूलाई उत्कृष्ट प्रदर्शन गर्ने उपयुक्त अवसर भएको बताए।

उनले भने, ‘तपाईंहरू आफैं भन्नुहुन्छ कि म अहिले उत्कृष्ट लयमा छैन। त्यसैले मबाट धेरै अपेक्षा नगर्नुहोस्। तर म विश्वस्त छु, यो दिन विशेष हुनेछ। यो मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण खेल हुनेछ। यहाँसम्म पुग्न पाएकोमा म निकै खुसी छु। हामी सबै उत्साहित छौं, र म सबैभन्दा बढी उत्साहित छु। निस्सन्देह, यो मेरो करिअरकै सबैभन्दा महत्वपूर्ण खेल हो।’

स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले पनि आफ्नो युवा खेलाडीको शान्त मानसिकताको प्रशंसा गर्दै टोलीले प्रतियोगिताभर जिम्मेवारी र खेलको आनन्दबीच सन्तुलन कायम राख्न सफल भएको बताए।

युरोपियन च्याम्पियन स्पेन प्रतियोगिता अघि बढ्दै जाँदा अझ बलियो बन्दै गएको छ। समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेले पनि त्यसपछि समूह ‘एच’ को शीर्ष टोली बन्दै नकआउट चरणमा अस्ट्रिया, पोर्चुगल र बेल्जियमलाई पराजित गरेको थियो। पछिल्ला दुई नकआउट खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका थिए।

मार्च २०२४ यता स्पेनले नियमित समयमा लगातार ३६ खेलसम्म हार बेहोरेको छैन। यदि फ्रान्सविरुद्धको खेलमा पनि नियमित समयमा अपराजित रह्यो भने स्पेनले इटालीको लगातार ३७ खेल अपराजित रहने सर्वकालीन कीर्तिमान बराबरी गर्नेछ।

दे ला फुएन्तेले आफ्ना खेलाडीहरूलाई विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा खेल्ने अवसरको आनन्द लिन आग्रह गर्दै सन् २०१० मा स्पेनलाई पहिलो विश्वकप उपाधि दिलाउने भावना सम्झिए।

मुस्कुराउँदै उनले भने, ‘म धेरै भावुक स्वभावको मान्छे हुँ। मलाई जुलियो इग्लेसियास मन पर्छ। त्यसैले म कसरी रोमान्टिक नहुने ?’

उता फ्रान्स उत्कृष्ट लयमा सेमिफाइनलमा प्रवेश गरेको छ। डिडिएर डेसच्याम्प्सको टोलीले समूह चरणका तीनवटै खेल जितेको थियो भने नकआउट चरणमा स्विडेन, पाराग्वे र मोरोक्कोलाई कुनै गोल नखाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

यस खेलसँगै डेसच्याम्प्सले फ्रान्सका मुख्य प्रशिक्षकका रूपमा आफ्नो कीर्तिमानी २६औँ फिफा विश्वकप खेलको नेतृत्व गर्नेछन्।

स्पेनका लागि विगतको प्रतिस्पर्धात्मक इतिहास पनि उत्साहजनक छ। दुवै टोलीबीच भएका ३८ भेटमध्ये स्पेनले १८ खेल जितेको छ। पछिल्ला १० भेटमध्ये सात खेलमा पनि स्पेन विजयी भएको छ, जसमा यूईएफए युरो २०२४ को सेमिफाइनल र २०२५ यूईएफए नेसन्स लिग फाइनल्सको सेमिफाइनलमा प्राप्त जित पनि समावेश छन्।

फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाउने लक्ष्यसहित हुने यो बहुप्रतीक्षित भिडन्तमा स्पेनको निर्भीक युवा टोली र अन्तर्राष्ट्रिय फुटबलमा अनुभव, निरन्तरता तथा सफलताको इतिहास बोकेको फ्रान्सबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। (एएनआई)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *