काठमाडौं। नेपाली कांग्रेसको इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट राष्ट्रिय भेलाको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ।
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन्।
यसै सिलसिलामा शनिबार तरुण दलको अगुवाइमा राष्ट्रिय भेला एवम विपी स्मृति दिवस मनाउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। कांग्रेस नेताहरु गुरु वराल, जितजंग वस्नेत, कुन्दनराज काफ्लेलगायतको सहभागितामा अन्तरिक्रया गरिएको हो।
सो क्रममा तरुण नेताहरुले संस्थापन पक्षले पार्टी विभाजनतर्फ लगेको र प्रतिपक्षको भूमिका कमजोर बनाएको प्रतिक्रिया दिए।
नेपाली कांग्रेसका नेता रत्नबहादुर महर्जनले पार्टीभित्र सत्ता पक्ष र प्रतिपक्षजस्तै अवस्था सिर्जना भएको बताएका छन्। महर्जनले पार्टीका गतिविधि न्यून भएकाले साउन ६ गते हुने जमघटको तयारीस्वरूप छलफल गरिएको बताए।
उनले भने, ‘पार्टी सत्ता पक्ष र प्रतिपक्षको अवस्थामा छ। पार्टीको गतिविधि एकदमै न्यून छ। मूलभूत रूपमा हुनुपर्ने गतिविधि देखिएको छैन। त्यसैले हामीले साउन ६ गतेको जमघटका लागि यो छलफल गरेका हौं, त्यसपछि राष्ट्रिय भेलाको तयारी सुरु हुनेछ।’
महर्जनले पार्टीभित्र आन्तरिक कलह, प्रतिस्पर्धा र गुटबन्दी स्वाभाविक भए पनि त्यसले पार्टी फुट्ने अवस्था आउन नहुने धारणा राखे।
यसैगरी तरुण दलका नेता दिल लामाले नेपाल तरुण दल कमजोर भयो भने राज्य कमजोर हुने बताए। उनले नेपाली कांग्रेस कमजोर बनेका कारण वर्तमान सत्ता पनि प्रभावहीन बन्दै गएको दाबी गरे।
उनले भने, ‘तरुण दल कमजोर भयो भने राज्य कमजोर हुन्छ। अहिले नेपाली कांग्रेस एकदमै कमजोर भएका कारण सत्ताको मनोमानी बढेको छ। तर अब राज्यले जुन जुन कुरामा गडबडी गरिरहेको छ त्यसमा नेपाल तरुण दल खबरदारी गर्छ। तरुण दल सडकमा आइसकेपछि बालेन सरकारलाई खबरदारी गर्छौं।’
साथै, राज्यले विभिन्न क्षेत्रमा गरिरहेका कमजोरी र अनियमितताप्रति तरुण दलले निरन्तर खबरदारी गर्ने बताए। साउन ६ गते विपी स्मृति दिवस भब्य रुपमा मनाउने पनि उनले जानकारी दिए।






डिसी नेपाल





Facebook Comment