मुग्लिन-नारायणगढको जलविरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध, रात्रिकालीन रोक हटाएलगत्तै दुर्घटना
चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको जलविरे क्षेत्रमा दुई वटा बस एकापसमा ठोक्किँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार बिहान ७ः१५ बजेको समयमा दुई सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना भएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भई यात्रुहरू अलपत्र परेका छन्।
यसअघि मनसुनजन्य विपद् र बाढी-पहिरोको उच्च जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय चितवनको निर्णयअनुसार शनिबार राति १०ः०० बजेदेखि मुग्लिन-नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
रात्रिकालीन समयमा गरिएको उक्त रोकलाई आइतबार बिहानदेखि हटाएर सडक विभागले सवारी सञ्चालन पुनः सुचारु गरेको थियो। तर, सवारी खुला गरिएको केही समयमै जलविरेमा बसहरू ठोक्किएर दुर्घटना भएपछि सडक फेरि अवरुद्ध हुन पुगेको सडक डिभिजनले जनाएको छ।
दुर्घटनामा परेका बसहरूमा सवार यात्रीहरूको अवस्था र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाको जानकारी पाउनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुखसहितको प्रहरी टोली उद्धार तथा सडक खुलाउने कार्यका लागि घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
सडक डिभिजन कार्यालय भरतपुर र ट्राफिक प्रहरीले सडक खुलाउने प्रयास जारी राख्दै लामो जाममा परेका अन्य सवारी चालकहरूलाई हतार नगर्न, सीमित गतिमा गाडी चलाउन तथा कडा रूपमा लेन अनुशासनको पालना गर्दै संयमित हुन विशेष अनुरोध गरेका छन्।






डिसी नेपाल





Facebook Comment