इरानी नेता मोज्तबाको नयाँ लिखित सन्देश: ‘अमेरिकालाई बिर्सन नसक्ने पाठ सिकाउनेछौं’

डिसी नेपाल
३ साउन २०८३ १०:२१

तेहरान। इरानको सरकारी टेलिभिजनमा प्रसारित एक विशेष कार्यक्रममार्फत त्यहाँका सर्वोच्च नेता मोज्तबा खामेनीको नयाँ लिखित सन्देश सार्वजनिक गरिएको छ।

सार्वजनिक सन्देशमा इरानले अमेरिकालाई ‘बिर्सन नसक्ने पाठ’ सिकाउने भन्दै कडा चेतावनी दिएको छ। सम्झौता उल्लंघनका घटनाहरूले फेरि एकपटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको प्रमाणित गरेको दाबी सन्देशमा गरिएको छ।

लिखित सन्देशमा भनिएको छ, ‘अमेरिकाले फेरि एकपटक आफ्नो वास्तविक अनुहार संसारसामु छर्लङ्ग पारेको छ। उसका पछिल्ला कदमहरूले उसका नीतिहरू झुटा, अविश्वसनीय र छलपूर्ण रहेको पुष्टि गर्छन्।’

सर्वोच्च नेता खामेनीले यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गरेमा उसले ठूलो क्षति बेहोर्नुपर्ने उल्लेख गर्दै इरान र उसका सहयोगी शक्तिहरूले अमेरिकालाई लामो समयसम्म सम्झिरहने गरी कडा जवाफ दिने चेतावनी समेत दिएका छन्।

आफ्ना पिता अली खामेनीपछि इरानको सर्वोच्च नेताको पदभार सम्हालेयता मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्। सुरक्षा र रणनीतिक कारणहरूले गर्दा उनले हालसम्म कुनै अडियो वा भिडियो सन्देश पनि जारी गरेका छैनन्।

रहस्यमयी छविका साथ पर्दा पछाडिबाटै सत्ता सञ्चालन गरिरहेका उनको नाममा सार्वजनिक हुने सबै आधिकारिक सन्देशहरू अहिलेसम्म लिखित रूपमै मात्र बाहिर आउने गरेका छन्। पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनाव र अमेरिका-इरान सम्बन्धमा आएको कटुताका बीच यो लिखित चेतावनी सार्वजनिक भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *