अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, पहिरो र बाढीले धेरै सडक पूर्ण रूपमा अवरुद्ध

डिसी नेपाल
१४ साउन २०८३ ९:०८

काठमाडौं। अविरल वर्षासँगै आएको पहिरो, बाढी र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

नेपाल प्रहरीले बुधबार बिहान ७:५० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै वर्षाका कारण सडक सञ्जालमा व्यापक असर परेको जनाएको हो। प्रहरीले यात्रु तथा चालकलाई यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण दैनिक बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्तिलोकपथ मा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा प्रतिबन्ध कायम गरिएको प्रहरीले जनाएको छ।

यता, इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग मा लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने यो मार्ग अवरुद्ध हुँदा यात्रु तथा ढुवानीमा समेत असर परेको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार स्थित लामासाँघु–रामेछाप सडक खण्ड मा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त मार्गमा पनि सवारी सञ्चालन बन्द भएको छ।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित पासाङ ल्हामु राजमार्ग मा त्रिशूली नदीले सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ मा कान्तिलोकपथमाथि सुक्खा पहिरो खसेपछि उक्त सडकसमेत पूर्ण रूपमा बन्द भएको छ।

त्यसैगरी, जाजरकोट–डोल्पा सडक अन्तर्गत मूलपानीखोलामा आएको बाढीले सडक कटान गरेपछि सो सडक खण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा विशेष सावधानी अपनाउन, मौसम तथा सडक अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *