महोत्तरीमा रोपाइँको बेला ट्रान्सफर्मर चोरी : सिँचाइ नपाउँदा किसान चिन्तामा
जनकपुरधाम। धान रोपाइँको मुख्य समयमै सिँचाइका लागि जडान गरिएको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि महोत्तरीको गौशाला नगरपालिकाका किसानहरू ठूलो समस्यामा परेका छन् । समयमा सिँचाइ सुविधा नपाउँदा उनीहरूको धानबाली सुक्ने जोखिम बढेको छ ।
गौशाला नगरपालिका–१ का स्थानीय किसान धनबहादुर समाल मगरका अनुसार, कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र नकटाझिज, धनुषाको सहयोगमा विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि उक्त ट्रान्सफर्मर जडान गरिएको थियो । सोही ट्रान्सफर्मरबाट डिप बोरिङमार्फत करिब १५ देखि १६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो ।
तर, धान रोप्ने चटारो भएको बेला ट्रान्सफर्मर नै चोरी भएपछि किसानहरू ठूलो मारमा परेका छन् । “गत चैत ३० गते नै ट्रान्सफर्मर चोरी भएको विषयमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराइसकेका छौँ,” किसान समाल मगरले दुखेसो पोख्दै भने, “तर अहिलेसम्म चोरी भएको ट्रान्सफर्मर फेला परेको छैन र नयाँ ट्रान्सफर्मर पनि जडान हुन सकेको छैन ।”
नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गरिए पनि सुनुवाई नभएको उहाँको गुनासो छ । ट्रान्सफर्मर नहुँदा किसानहरू महँगो शुल्क तिरेर वा अन्य वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।
मधेश प्रदेशमा बढ्दै ट्रान्सफर्मर चोरीको समस्या
नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियैतले पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा ट्रान्सफर्मर चोरीका घटना तीव्र रूपमा बढेको स्वीकार गरे ।
प्राधिकरणको तथ्यांक अनुसार पछिल्ला पाँच वर्षमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भइसकेका छन् । यसरी चोरी हुनेमा सबैभन्दा बढी महोत्तरी जिल्ला रहेको छ, जहाँबाट २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएका छन् ।
चोरी भएका ट्रान्सफर्मरहरूको सम्पूर्ण विवरण सङ्कलन गरी आवश्यक खोजतलास तथा कडा अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिसकिएको प्रमुख कुसियैतले जानकारी दिए। ट्रान्सफर्मरभित्र रहने तामाको क्वाइल (Copper Coil) बजारमा महँगो मूल्यमा बिक्री हुने भएकाले यस्ता गतिविधि गर्ने चोरहरूको गिरोह सक्रिय रहेको उनको भनाइ छ ।
किसानको माग : दोषीलाई कारबाही र शीघ्र ट्रान्सफर्मर जडान
सिँचाइ अभावले अन्नको भण्डार मानिने यस क्षेत्रको कृषि उत्पादनमा प्रत्यक्ष नकारात्मक असर पर्ने देखिएको छ । यसप्रकारका आपराधिक गतिविधि गर्ने दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन र धान रोपाइँको यो संवेदनशील समयमा तत्काल नयाँ ट्रान्सफर्मर जडान गरिदिन पीडित किसानहरूले सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment