अविरल वर्षा र पहिरोले देशका धेरै राजमार्ग अवरुद्ध, रातिको समयमा यात्रामा कडाइ
काठमाडौं। अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग र सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। केही सडकमा सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन् भने जोखिमपूर्ण क्षेत्रमा रातिको समयमा आवागमनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
त्यसैगरी कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ भने सोही लोकपथको ललितपुरस्थित बागमती गाउँपालिका-३ मा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
अन्य राजमार्गहरूमा इलाम नगरपालिका-९ स्थित मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि सवारी आवागमन ठप्प भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।
दोलखाको किर्नेटारमा सामाकोशी खोलाले लामासाँघु-रामेछाप सडक कटान गरेको छ भने रसुवाको खाल्टेस्थित पासाङ ल्हामु राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा आवागमन पूर्ण रूपमा रोकिएको छ। उता जाजरकोट-डोल्पा सडक खण्डको मूलपानी खोलामा आएको बाढीले सडक बगाउँदा सवारी साधन चल्न सकेका छैनन्।
वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम अत्यधिक हुने भएकाले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित निकाय वा प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन र पूर्ण सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment