माग प्रमाणीकरणमा नयाँ व्यवस्था: वैदेशिक रोजगारीमा जाने श्रमिकको ‘जब डिस्क्रिप्सन’ अनिवार्य

डिसी नेपाल
१४ साउन २०८३ १०:३०

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरण सम्बन्धी व्यवस्थालाई थप व्यवस्थित र पारदर्शी बनाएको छ।

मन्त्रालयमा साउन १३ गते बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार अबदेखि वैदेशिक रोजगारीका लागि माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

नयाँ व्यवस्था अनुसार रोजगारदाताले कामको प्रकृति स्पष्ट खुलाउनुपर्नेछ; जसअन्तर्गत काम कम्पनीभित्र (इन्डोर) वा कम्पनीबाहिर (आउटडोर) कुन प्रकारको हो भन्ने कुरा खुलाउन अनिवार्य गरिएको छ। यदि कामदारले इन्डोर र आउटडोर दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भएमा दुवै कामको कार्य-समय (वर्किङ आवर्स) समेत प्रस्ट तोकेर मात्र प्रमाणीकरण गरिने मन्त्रालयले जनाएको छ।

यसअघि माग पत्रमा कामको पद वा शीर्षक (जस्तै: लेबर, क्लिनर आदि) मात्र उल्लेख भए पनि माग प्रमाणीकरण हुने व्यवस्था रहेको थियो। अब भने कामको विस्तृत विवरण नखुलेमा माग प्रमाणीकरण हुने छैन। गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा-सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अन्य पक्षहरू ‘वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५’ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ।

मन्त्रालयका अनुसार यो नयाँ व्यवस्था लागू भएसँगै वैदेशिक रोजगारीका क्रममा कार्यविवरण स्पष्ट नहुँदा नेपाली श्रमिकहरूमाथि हुन सक्ने शोषण, ज्यादती तथा ठगी न्यूनीकरण गर्न मद्दत पुग्नेछ। साथै, श्रमिकको सेवा-सर्तको सुरक्षा सुनिश्चित गर्दै वैदेशिक रोजगारीमा पठाउने समग्र प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *