नेपाल र मंगाेलियाबीच शिक्षा र खेलकुदमा सहकार्य हुने, चेस खेललाई प्राथमिकता
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगषाेङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा उनीहरूबीच नेपाल र मंगाेलियाबीचको लामो कूटनीतिक सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।
दुवै देश भौगोलिक एवं सांस्कृतिक पक्षमा निकै नजिक रहेको स्मरण गर्दै विशेष गरी विद्यालय स्तरको शिक्षा र खेलकुदका क्षेत्रमा चेस खेललाई प्रवर्द्धन गर्ने विषयमा सहकार्यको प्रस्ताव गरिएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
नेपालले विद्यालय शिक्षामा खेलकुदलाई समायोजन गरेर अघि बढाउने नीति लिएको जानकारी गराउँदै उहाँले चेस खेलको प्रवर्द्धन र विकासका लागि नेपाल र मङ्गोलियाका चेस फेडेरेसनहरूबीच सहकार्य गराउन मन्त्रालयले सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए।
यसैगरी मङ्गोलियाका पूर्वप्रधानमन्त्री जान्दानशातारले मङ्गोलिया र नेपाल दुवै भूपरिवेष्टित राष्ट्र हुनुका साथै बौद्ध संस्कृतिमा समानता रहेको उल्लेख गरे। चेस केवल खेल मात्र नभई विद्यार्थीहरूको समालोचनात्मक सोच, निर्णय क्षमता र बौद्धिक विकासको महत्त्वपूर्ण माध्यम भएको उनको भनाइ थियो।
मङ्गोलियाले विद्यालय शिक्षामा चेसलाई एकीकरण गरिसकेको अनुभव सुनाउँदै पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपालका विद्यालयहरूमा पनि चेसलाई जोड्न मङ्गोलिया सरकार र मङ्गोलियन चेस फेडेरेसनका तर्फबाट आवश्यक सहयोग एवं सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment