प्रतिनिधिसभा बैठक बस्दै: भूमिहीन र सुकुमवासी समस्याबारे छलफल हुने कार्यसूची

डिसी नेपाल
१९ साउन २०८३ ६:२८

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

यसअघि दुई साता स्थगित भई गत साउन १४ गते बसेको बैठक पुनः ५ दिनका लागि स्थगित भएको थियो। लामो विरामपछि आज बस्न लागेको बैठकमा नेपाली कांग्रेसका सांसद एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पेस गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ।

सांसद आङ्देम्बेले वास्तविक भूमिहीन तथा सुकुमवासीको पहिचान गरी उनीहरूको सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको निरन्तरता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै, उनीहरूलाई उचित क्षतिपूर्तिसहित स्थायी पुनःस्थापना गर्न र यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था मिलाउन प्रस्तावमा माग गरिएको छ। उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्।

यस्तै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *