विभिन्न २१ मुलुक र नियोगमा राजदूत नियुक्त गर्ने सरकारको तयारी
काठमाडौं। नेपाल सरकारले विभिन्न २१ मुलुक तथा कूटनीतिक नियोगहरूमा रिक्त र कार्यकाल सकिन लागेका पदहरूमा राजदूत नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी म्याद थपेर कार्यरत रहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भियनासहित २१ नियोगमा आगामी दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन लागिएको हो।
नेपालका हाल विदेशस्थित २८ वटा राजदूतावास, संयुक्त राष्ट्रसङ्घका लागि तीन वटा स्थायी मिसन (न्यूयोर्क, जेनेभा र भियना) तथा आठ वटा महावाणिज्य दूतावास गरी कुल ३९ वटा कूटनीतिक मिसनहरू रहेका छन्।
यीमध्ये हाल १५ मुलुक तथा नियोगमा मात्र राजदूत कार्यरत छन् भने अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलङ्का, बेलायत, अमेरिका र स्पेन गरी १६ मुलुकमा राजदूत पद रिक्त रहेको मन्त्रालयको तथ्यांक छ।
सरकारले यसै आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका तीन वटा राजदूतावास भने बन्द गर्ने निर्णय गरिसकेको छ। परराष्ट्र मन्त्रालयका अनुसार इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट राजदूत नियुक्त गर्न लागिएको हो।
हाल प्राप्त भएका खुला आवेदनहरूको अध्ययन भइरहेको र तिनै आवेदनहरूबाट योग्य उम्मेदवार छनोट गरी राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सरकारको योजना छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment