सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले मंगलबार बिदाइ शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको भेटमा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए। उनले यस प्रक्रियामा युरोपेली संघको सकारात्मक सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका थिए। साथै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, पूर्वाधार विकास र आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए।
सभामुख अर्यालले हालै युरोपेली संघका सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको र निकट भविष्यमा युरोपेली संघसँग पनि यस्तो समूह गठन गरिने बताए। उनले संयुक्त आयोगका नियमित बैठक र उच्चस्तरीय भ्रमणले नेपाल–युरोपेली संघ सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।
राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली संघबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ बलियो बन्दै जाने विश्वास व्यक्त गरिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment