कोशीका मुख्यमन्त्री फेर्ने ओलीको प्रयास विफल: कार्कीको राजीनामा दिन अस्वीकार, एमालेभित्र किचलो बढ्यो
काठमाडाैं। नेकपा एमालेभित्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा विवाद उत्पन्न भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई गुण्डुस्थित निवासमै बोलाएर राजीनामा दिन दबाब दिए पनि कार्कीले भने आफूले राजीनामा नदिने अडान दोहोर्याएका छन्।
ओली र कार्कीबीच मंगलबार साँझ झण्डै एक घण्टा भएको ‘वान टु वान’ वार्तामा कार्कीले आफ्नो अडान नछाडेपछि समस्या समाधानका लागि आज पुनः पार्टी पदाधिकारीसहितको छलफल डाकिएको छ।
ओलीले हालको परिस्थितिमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनु उपयुक्त हुने भन्दै पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीलाई सोही अनुसार वातावरण बनाउन निर्देशन दिइसकेका छन्।
तर मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकार भएकाले आफूले राजीनामा दिँदा संवैधानिक संकट निम्तने र राजनीतिक रूपमा पनि राम्रो सन्देश नजाने अडान राखिरहेका छन्।
संसदीय दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद रिक्त नहुने भएकाले कार्कीको राजीनामा बिना नयाँ सरकार गठनको संवैधानिक बाटो जटिल बनेको छ।
यसअघि एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले पनि अध्यक्षको निर्देशन भन्दै मुख्यमन्त्रीको राजीनामा मागेका थिए। कार्कीले संस्थागत निर्णय आवश्यक पर्ने भन्दै राजीनामा दिन अस्वीकार गरेपछि राईको नेतृत्वमा विराटनगरमा सांसदहरूको हस्ताक्षर संकलन अभियान तीव्र पारिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नै निवासमा सांसदहरूलाई बोलाएर पार्टी निर्णय मान्न दबाब दिँदै हस्ताक्षर गराइरहेका छन्। पार्टी नेतृत्वको दबाब र मुख्यमन्त्रीको अडानका बीच कोशी एमालेभित्रको आन्तरिक किचलो थप उत्कर्षमा पुगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment