सरकार सुशासन र पारदर्शितामा पूर्ण असफल भएको कांग्रेसको ठहर

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग

डिसी नेपाल
२० साउन २०८३ १४:१४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वको हरेक मोर्चामा पूर्ण रूपमा असफल भएको ठहर गरेको छ।

बुधबार विशेष पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटले घेरियपछि आफ्ना कमजोरी लुकाउन जनताको ध्यान विषयान्तर गर्न लिप्त रहेको आरोप लगाएका छन्

कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनाहरूमा राज्य संयमित र जिम्मेवार हुन नसकेको जनाएको छ

नागरिकसामु सरकार बन्दुकको गोली, लाठी र दमनका रूपमा प्रस्तुत हुनु खेदजनक रहेको उल्लेख गर्दै कांग्रेसले सरकारद्वारा गठित छानबिन समिति निष्पक्ष नहुने संशय व्यक्त गरेको छ। उक्त घटनाको निष्पक्ष र विश्वासयोग्य जाँचका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरिएको छ

त्यसै गरी, भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर आयोगको प्रतिवेदन अपूर्ण रहेको र राष्ट्रिय मानव अधिकार आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा सरकार मौन रहनुलाई रहस्यपूर्ण मानिएको छ

सरकारमै रहेका व्यक्तिहरू आरोपित भइरहेको अवस्थामा निष्पक्ष छानबिन सम्भव नहुने भन्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन आग्रह गरिएको छ। प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि राज्यकै तर्फबाट आक्रमण भइरहेको आरोप लगाउँदै कांग्रेसले प्रश्न सोधेकै आधारमा पक्राउ परेका ‘जेनजी’  युवा अभियन्ताहरूलाई अविलम्ब रिहा गर्न र प्रतिशोधपूर्ण कार्य बन्द गर्न चेतावनी दिएको छ

राहदानी छपाइ खरिद प्रक्रियामा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई पन्छाएर बदमासी गर्न खोजिएको र फ्रान्सेली तथा जर्मन कम्पनी विवादमा प्रधानमन्त्रीको सचिवालयको नाम जोडिनुले गम्भीर शङ्का उब्जाएको कांग्रेसको ठहर छ

यसका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई कार्यपालिका प्रमुखको कार्यालयमा डाकेर धम्क्याउने र संवैधानिक निकायको स्वायत्ततामाथि हस्तक्षेप गर्ने काम भइरहेको दाबी गरिएको छ

हालै पारित प्रतिनिधि सभा नियमावली २०८३ ले सांसदहरूलाई मुलुकी ऐन र फौजदारी कानुनभन्दा माथि राख्न खोजेको भन्दै कांग्रेसले कानुनी समानताको सिद्धान्त उल्लंघन गर्ने नियमावलीका प्रावधानहरू स्वीकार्य नहुने स्पष्ट पारेको छ

मन्त्री तथा उच्च पदाधिकारीहरूको सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नहरूको जवाफ नआएको भन्दै अनुसन्धानको ‘र्याडार’बाट सत्तापक्षका मानिसहरूलाई उन्मुक्ति दिने दोहोरो मापदण्ड अपनाइएको आलोचना गरिएको छ

पर्याप्त प्रमाणविना निजी क्षेत्रमा छापा मार्ने र व्यवसायीहरूलाई थुन्ने धम्कीपूर्ण व्यवहारले लगानीको वातावरण बिग्रेको बताइएको छ

खेतीपातीको मुख्य सिजनमा किसानले मल नपाएर कालाबाजारीको मार खेप्नुपरेको, एलपी ग्यासको बजारमा अभाव सिर्जना भएको र कूटनीतिक क्षेत्रमा अपरिपक्वता प्रदर्शन गर्दै विदेशस्थित दूतावासहरू खाली राखिएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराइएको छ

शिक्षा क्षेत्रको अस्तव्यस्तता, नतिजा प्रकाशनमा भएका गम्भीर त्रुटि तथा मिटरब्याज पीडित, सहकारी बचतकर्ता र स्वास्थ्यकर्मीहरूसँग गरिएका सम्झौताहरू कार्यान्वयन नगरेर सरकारले सम्झौतालाई केवल आन्दोलन पन्छाउने अस्त्र बनाएको आरोप कांग्रेसको छ

प्रवक्ता चालिसेले सरकारलाई राजनीतिक ‘स्टन्ट’ छाडेर पूर्ण पारदर्शिता र परिणाममुखी कामबाट जनविश्वास पुनःस्थापित गर्न आग्रह गरेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *