बीपीको पथ र एकताका लागि कांग्रेस युवा नेताहरूको ‘राष्ट्रिय संकल्प’
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अन्त्य गर्दै पार्टीलाई जनमुखी र वैचारिक रूपमा पुनर्गठित गर्ने उद्देश्यका साथ युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत ‘राष्ट्रिय संकल्प’ सार्वजनिक गरेका छन्।
बुधबार आयोजित ‘एकता–सद्भाव विमर्श: २०८३’ कार्यक्रममा पार्टीका विभिन्न तहका प्रभावशाली नेताहरूले कांग्रेसलाई गुटबन्दीको चंगुलबाट मुक्त गरी बीपी कोइरालाको मेलमिलापको नीति र प्रजातान्त्रिक समाजवादको जगमा पुनर्गठित गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन्।
विमर्शमा पेस गरिएको प्रतिवेदनमा बीपी कोइरालाको ‘कांग्रेस एउटै ठुलो परिवार हो’ भन्ने भावनालाई आत्मसात गर्दै परिवारको अर्थ विचारको विविधतामा पनि एउटै विश्वास जीवित रहनु रहेको उल्लेख गरिएको छ। प्रतिवेदनले वर्तमान कांग्रेसलाई गम्भीर प्रश्न गर्दै सोधेको छ, ‘के यो चौतारी आज पनि सबैका लागि खुला छ? के हाम्रो व्यवहारले बीपीको विश्वासलाई सम्मान गरिरहेको छ?’
युवा नेताहरूले मुलुकमा बढ्दो भ्रष्टाचार, युवा पलायन, किसानका समस्या र शिक्षित पुस्तामा छाएको निराशाको समाधान गुटबन्दी वा पदको दौडमा नभई एकताबद्ध र जनउत्तरदायी कांग्रेसमा मात्र सम्भव रहेको ठहर गरेका छन्। प्रतिवेदनमा भनिएको छ, ‘इतिहास हामीले पढ्ने विषय मात्र होइन, इतिहास लेख्ने जिम्मेवारी हाम्रो हो। अब हामीले निराशा होइन सम्भावना, र नारा होइन अवसर दिनुपर्छ।’
कार्यक्रममा कांग्रेसलाई फुट्न दिइने छैन र लोकतन्त्रलाई कमजोर हुन दिइने छैन, युवाको आशा मर्न दिइने छैन र जनताको विश्वास टुट्न दिइने छैन, व्यक्तिभन्दा विचार र संगठनभन्दा माथि राष्ट्रहितलाई राखिनेछ, तथा प्रतिपक्षको भूमिकालाई केवल विरोधमा मात्र सीमित नराखी सरकारलाई प्रश्न गर्ने साहस र राष्ट्रलाई समाधान दिने क्षमताका रूपमा विकास गरिनेछ भन्ने सामूहिक संकल्प गरिएको कांग्रेस युवानेता नैनसिंह महरले बताए।
अभियानमा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, युवा नेताहरू पुष्पराज शाही, राजेन्द्र तिवारी, राजनीतिक विश्लेषक अरुण सुवेदी, नेताहरू आनन्द त्रिपाठी, लीलाबल्लभ दाहाल ‘काका’, मनहरि श्रेष्ठ, रजनी, आनन्द सन्तोषी राई र डा. यज्ञप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो। उपस्थित नेताहरूले पार्टीभित्र पुस्ता जोड्ने, विवाद होइन विश्वास जोड्ने र कांग्रेस मात्र होइन देश जोड्ने अभियानमा लाग्ने प्रण गरेका छन्।
कार्यक्रमको समापन गर्दै नेताहरूले बीपीको आदर्शलाई स्मरण गर्दै भने, ‘हामी गुट होइन, पुस्ता जोडौँ। हामी विवाद होइन, विश्वास जोडौँ। एकता नै शक्ति हो, कांग्रेस नै भविष्य हो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment