विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा केसी र सचिवमा श्रेष्ठ नियुक्त

डिसी नेपाल
२० साउन २०८३ १७:५४

काठमाडौं। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन्। त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मनुभएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिन्छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्।

तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहनुभएका उनी शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए। उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन्।

त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन्। आयोगको सचिवमा नियुक्त हुनुअघि उनी बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन्।

उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छन्। साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छन्। उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक तथा पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *