युरोप छिर्ने सपनामा स्पेनको स्युटा पुगेका हजारौं आप्रवासी अलपत्र
एजेन्सी। रोजगारी र सुनिश्चित भविष्यको खोजीमा युरोप छिर्न खोज्दा मोरक्कोको सीमासँग जोडिएको स्पेनको सानो सहर ‘स्युटा’मा हजारौँ आप्रवासीहरू अलपत्र परेका छन्। युरोपको मुख्य भूभाग आँखाअगाडि नै देखिए पनि त्यहाँ पुग्ने कानुनी तथा भौगोलिक बाटो बन्द भएपछि उनीहरू सीमा क्षेत्रमा रोकिन बाध्य भएका हुन्।
उत्तरी अफ्रिकी तटमा अवस्थित स्युटा र मेलिल्ला भौगोलिक रूपमा अफ्रिका महादेशमा परे पनि प्रशासनिक रूपमा स्पेनका ‘एक्स्क्लेभ’ (विदेशी भूभागभित्र रहेका आफ्ना क्षेत्र) हुन्।
युरोपेली संघको बाह्य सीमा मानिने यी सहरहरू लामो समयदेखि कागजातविहीन आप्रवासीहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख र संवेदनशील ढोका बन्दै आएका छन्।
वर्षौँदेखि आप्रवासीहरू सीमाको अग्लो बार चढेर वा समुद्री तटमा पौडिएर स्युटा छिर्ने र त्यहाँबाट स्पेनको मुख्य भूभाग हुँदै युरोपका अन्य मुलुकतर्फ लाग्ने प्रयास गरिरहेका हुन्छन्।
हालका वर्षहरूमा मोरक्कोले द्रुत आर्थिक विकास गरिरहेको भए पनि उत्तरी मोरक्कोका औद्योगिक विकास कम भएका क्षेत्रका युवाहरू अझै पनि राम्रो भविष्यको आशामा युरोपलाई नै आफ्नो अन्तिम गन्तव्य मान्छन्। २० वर्गकिलोमिटरभन्दा पनि कम क्षेत्रफल र करिब ८० हजार जनसङ्ख्या भएको स्युटा फेरि एकपटक आप्रवासन संकटको केन्द्र बनेको छ।
स्युटाबाट स्पेन वा अन्य शेङ्गेन मुलुक जानका लागि वैध कागजात अनिवार्य चाहिने भएकाले अस्थायी स्वागत केन्द्रमा रहेका धेरै आप्रवासीहरू यतिबेला बीचमै रोकिएका छन्। मोरक्कोका आप्रवासी हसन भन्छन्, “म केवल काम गरेर जीविकोपार्जन गर्न चाहन्छु। मोरक्कोमा काम नपाएपछि यहाँ आएको हुँ; स्पेनमा फर्निचर बनाउने, नाइको काम वा जे पाए पनि गर्छु।”
अर्कातिर, आप्रवासीहरूको अनियन्त्रित आगमनले स्थानीय बासिन्दामाथि तीव्र दबाब सिर्जना गरेको छ। स्युटामै हुर्किएकी स्थानीय बासिन्दा क्रिस्टिनाका अनुसार चार फरक संस्कृतिका मानिसहरू शान्तिपूर्वक बसोबास गर्दै आएको यस सहरमा गलत सूचनाका भरमा ठूलो सङ्ख्यामा मानिसहरू आएका हुन्।
स्थानीय गाब्रिएला थप्छिन्, “उनीहरूको गरिबी र राम्रो जीवनको चाहना म बुझ्छु। तर ८० हजार जनसङ्ख्या भएको सानो ठाउँमा एक्कासि ठूलो सङ्ख्यामा मानिसहरू आइपुग्दा कसरी व्यवस्थापन गर्ने? हामीसँग न पर्याप्त ठाउँ छ, न त उपयुक्त पूर्वाधार नै।”
१० वर्षदेखि स्युटामा ट्याक्सी चलाउँदै आएका करिमका अनुसार सीमा नाका केही सामान्य बने पनि धेरै आप्रवासीहरू न युरोप जान सकिरहेका छन्, न त मोरक्को नै फर्कन चाहन्छन्। अन्ततः धेरैले सपना पूरा भएर नभई, कडा वास्तविकता र निराशा बुझेर स्युटा छोड्नुपर्ने स्थिति बनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment