मर्चवारीमाईमा पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

डिसी नेपाल
२४ साउन २०८३ ७:५९

रुपन्देही। । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ। स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित गाउँपालिकाले दीर्घकालीन योजनाका आधारमा बजेट तथा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

गाउँपालिकाले सडक, खानेपानी, सरसफाइलगायतका भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले बताए।

उनका अनुसार स्थानीय सरकारको विकासलाई सडक, भवन तथा अन्य भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको समग्र जीवनस्तर सुधारसँग जोडिएको छ। “हाम्रो लक्ष्य सडक र भवन निर्माणमा मात्र सीमित छैन। स्वस्थ, शिक्षित, आत्मनिर्भर र समृद्ध समाज निर्माणतर्फ केन्द्रित छौँ,” उनले भने।

स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा विस्तारसँगै मातृ तथा शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, नियमित खोप, पोषण तथा स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ। स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार सुधार, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, गर्भवती तथा सुत्केरीको स्वास्थ्य परीक्षण र बाल स्वास्थ्य परीक्षणलाई पनि निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ।

समुदायमा आधारित स्वास्थ्य कार्यक्रममार्फत नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने प्रयास भइरहेको गाउँपालिकाको भनाइ छ।

कृषिलाई स्थानीय अर्थतन्त्रको मुख्य आधारका रूपमा लिँदै गाउँपालिकाले किसान लक्षित कार्यक्रमलाई समेत प्राथमिकता दिएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउबिजन, सिँचाइ सुविधा, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको छ। किसानको उत्पादन र आम्दानी बढाउने उद्देश्यले प्राविधिक सहयोग तथा विभिन्न कृषि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

युवालाई स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम, कृषि उद्यम, साना व्यवसाय तथा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालनमा ल्याइएको छ। स्थानीय स्रोत र सम्भावनाको उपयोग गर्दै युवालाई आर्थिक गतिविधिमा जोड्ने प्रयास भइरहेको गाउँपालिकाको भनाइ छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन प्रशासनिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताए। उनका अनुसार नागरिकको विश्वास स्थानीय सरकारको सेवा प्रवाहसँग जोडिएकाले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखिएको छ।

“स्थानीय सरकारप्रतिको नागरिकको विश्वास सेवा प्रवाहबाट स्थापित हुन्छ। त्यसैले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर नागरिकमैत्री प्रशासन निर्माणमा केन्द्रित भएका छौँ,” उनले भने।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ।

सामाजिक विकासतर्फ महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष आशा सिंहले बताइन्। महिला सशक्तीकरण, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सीप विकासका कार्यक्रमलाई वडा तहसम्म विस्तार गरिएको उनले जानकारी दिइन्।

शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक गुणस्तर वृद्धि, शिक्षकको क्षमता विकास र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ। विद्यालयमा आवश्यक सुविधा विस्तार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने कार्यक्रमलाई समेत अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनका कार्यक्रमलाई पनि गाउँपालिकाले प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। स्थानीयस्तरमा स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइएको जनाइएको छ।

गाउँपालिकाका अनुसार विकास निर्माणका योजना छनोट गर्दा स्थानीय आवश्यकता र नागरिकको मागलाई मुख्य आधार बनाउने गरिएको छ। योजना कार्यान्वयनमा जनसहभागिता, नियमित अनुगमन र पारदर्शितालाई प्राथमिकता दिइएको छ।

पूर्वाधार निर्माणसँगै सामाजिक र आर्थिक विकासलाई समान रूपमा अघि बढाउँदै मर्चवारीमाई गाउँपालिकाले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी विकासका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *