नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनभित्रै सर्वसाधारणका लागि खुला गरिने

डिसी नेपाल
२५ साउन २०८३ ११:५१

काठमाडौ। सडक विभागले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने भएको छ। हाल उक्त सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र प्रयोगमा ल्याइएको छ।

सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शुभराज न्यौपानेका अनुसार सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्नुअघि सुरुङमार्गमा अन्तिम सुरक्षा परीक्षण भइरहेको छ। सुरुङभित्र कुनै आपत्कालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा अभ्यास गरिनेछ।

विशेष गरी ठूलो संख्यामा यात्रु सवार बसमा आगलागी भएमा उनीहरूको शीघ्र र सुरक्षित उद्धार कसरी गर्ने भन्ने अभ्यास परीक्षणको मुख्य विषय रहेको बताइएको छ।

सामाजिक सञ्जालमा सुरुङमार्गभित्र ब्यारिकेड तथा ड्रमहरू राखिएका तस्बिरहरू सार्वजनिक भइरहेको सन्दर्भमा न्यौपानेले ती सामग्री सुरक्षा परीक्षण र तयारीकै क्रममा राखिएको स्पष्ट पारेका छन्।

विमानस्थलहरूमा गरिने आपत्कालीन उद्धार अभ्यासजस्तै सुरुङमार्गमा पनि अन्तिम सुरक्षा परीक्षण (सेफ्टी टेस्ट) आवश्यक पर्ने र उक्त परीक्षण सम्पन्न हुनासाथ सुरुङमार्ग सबैका लागि खुला गरिने उनले बताए।

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको साउन दोस्रो साता औपचारिक उद्घाटन गरिएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहका बिच सुरुङमार्गको उद्घाटन भएको हो।

निर्माण सुरु भएको सात वर्षपछि औपचारिक उद्घाटन गरिएको यो सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन हुने, यात्रा समय घट्ने र सुरक्षित आधुनिक सडक पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *