विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड
कर्णाली । कर्णाली प्रदेशसभा सदस्यहरूले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कर्णाली प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङलगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए। उनले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै सरकारको उपस्थितिको अनुभूति गराउन आग्रह गरे।
कर्णालीको विकट भूगोल, कमजोर सडक पूर्वाधार, नदीनाला तथा भिरालो जमिनका कारण प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै शाहीले विपद् प्रभावितलाई समयमै उचित राहत र आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे।
पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेशसभा सदस्यहरूले उठाएका विषयलाई दलगत दृष्टिकोणबाट नभई गम्भीरतापूर्वक अध्ययन गरेर सरकारले सम्बोधन गर्नुपर्ने बताए। उनले प्रदेशलाई सङ्घीयताको बलियो आधारका रूपमा विकास गर्न प्रदेश सरकारलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
प्रदेशसभा सदस्य सुरेश अधिकारीले सरकारले नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी सेवा प्रवाह गर्नुपर्ने बताए। त्यस्तै, प्रदेशसभा सदस्य दक्षिणा शाहीले कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहाँस्थित इम्रीमा बाढी तथा पहिरोका कारण गाईवस्तु, अन्नपात र घरमा क्षति पुगेको भन्दै प्रभावितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।
बैठकमा प्रदेशसभा सदस्य कल्याणी खड्काले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र अधिकार संरक्षणका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।
प्रदेशसभा सदस्यहरू उर्मिला विश्वकर्मा, वेदराज सिंह र देवेन्द्र शाहीले जाजरकोट, कालिकोट, हुम्ला तथा रुकुमपश्चिममा पहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावितको पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए।
बैठकमा सभामुख नन्दा गुरुङले विशेष समयमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने गरी रुलिङ गरेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment