राजकुमारी मेगनको निजी पत्र प्रकाशन गरेपछि ब्रिटिश पत्रिकाविरुद्ध मुद्दा

डिसी नेपाल
१६ असोज २०७६ ९:०८

बीबीसी । ब्रिटेनका राजकुमार ह्यारीकी पत्नी डचिस अफ ससिक्सले एक पत्रिकाले कानुनविपरीत आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै उसविरुद्ध कानुनी प्रक्रिया थालेकी छन्।

राजकुमार ह्यारीले मेगनविरुद्धको प्रचारबाजीका कारण आफूहरू कानुनी उपचार खोज्न बाध्य भएको बताएका छन्। उनले मेगनले आफ्ना पितालाई लेखेको पत्रको अंश मेल अन सन्डेले अवैध रूपमा प्रकाशन गरेको बताए।

‘मैले मेरी आमा गुमाएको छु र अहिले म मेरी पत्नी तिनै शक्तिशाली फौजको सिकार हुन लागेको देख्दैछु,’ राजकुमार ह्यारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

राजकुमार ह्यारी प्रिन्सेस अफ वेल्स डायनाका कान्छा छोरा हुन्। सन् १९९७ मा उनको फोटो खिच्न फोटोग्राफरहरूले पछ्याउँदा राजकुमारी डायनाको फ्रान्सको राजधानी प्यारिसमा दुर्घटनामा परी मृत्यु भएको थियो।

आफ्नी आमासँग भएका घटनालाई सङ्केत गर्दै ह्यारीले इतिहास फेरि दोहोरिन्छ कि भनेर आफूलाई ठूलो डर लागेको बताए। मेल अन सन्डे पत्रिकाले भने आफूले प्रकाशित गरेको समाचारको प्रतिरक्षा गरेको छ।

ह्यारीका लागि काम गरिरहेको एउटा कानुनी संस्थाले उक्त पत्रिकाले दुष्प्रचार गरेको र अपमानजनक समाचार छापेको आरोप लगाएको छ। उक्त संस्थाले अदालतमा व्यक्तिगत सूचना, प्रतिलिपि अधिकारको हनन र डेटा सुरक्षासम्बन्धी सन् २०१८ को ऐन उल्लङ्घन गरेको भन्दै सम्बन्धित पत्रिका र उसको मातृसंस्थाविरुद्ध मुद्दा दायर गरेको छ।

बीबीसीका शाही संवाददाता निकोलस विट्चलका अनुसार ह्यारीले जारी गरेको विज्ञप्ति स्पष्ट र ब्रिटेनका ट्याब्लोइडमाथि कडा आक्रमणभन्दा कम नरहेको बताएका छन्।ब्रिटेनको राजपरिवारले सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोजेको यो नै पहिलो पटक भने होइन।

सन् २०१७ मा फ्रान्सेली पत्रिका ुक्लोजरु विरुद्धको मुद्दामा ड्यूक अफ केम्ब्रिज राजकुमार विलिअम र उनी पत्नी डचिस अफ केम्ब्रिज क्याथरिनले एक लाख यूरो क्षतिपूर्ति पाएका थिए।

उक्त पत्रिकाले क्याथरिनले कम्मरमाथि कपडा नलगाएको अवस्थामा खिचिएको तस्बिर प्रकाशन गरेको थियो। एउटा फ्रान्सेली अदालतले उक्त तस्बिरको प्रकाशनले गोपनीयतामाथि हस्तक्षेप गरेको ठहर गरेको थियो।

ह्यारी र मेगनले कानुनी उपचारका लागि लाग्ने खर्च निजी रूपमा बेहोरिरहेको र त्यसबाट हुने कुनै आर्थिक लाभ एन्टी–बुलीइङ सम्बन्धी परोपकारी कार्यमा खर्च गरिने बताइएको छ।

सञ्चारमाध्यमलाई लोकतन्त्रको आधारशिला रूपमा चित्रित गर्दै विज्ञप्तिमा ह्यारीले आफूहरूले सञ्चारमाध्यमको स्वतन्त्रता, निष्पक्षता र सत्य विवरण माथि विश्वास राखेको उल्लेख गरेका छन्।

तर परिणामको वास्ता नगरी सर्वसाधारणविरुद्ध अभियान चलाउने ब्रिटेनका ट्याब्लोइडको पछिल्लो सिकार आफ्नी पत्नी भएको ह्यारीले बताएका छन्। मेगन गर्भवती हुँदादेखि नवजात शिशु हुर्काउँदाको अवस्थामा पनि उनको खेदो गरिएको उनले बताएका छन्।

मेगनले भोगेको पीडाको आफू लामो समयदेखि साक्षी भएको भन्दै ह्यारीले केही नगरी मौन बस्नु हामीहरूले विश्वास गर्ने सबै कुरा विपरीत हुने उल्लेख गरेका छन्। ‘सामान्य भाषामा भन्दा यो बुलीइङ हो जसले मान्छेलाई तर्साउँछ र चुप लगाउँछ। हामी सबैलाई थाहा छ-कुनै पनि मात्रामा यो स्वीकार्य हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *