लुम्बिनीमा तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

डिसी नेपाल
९ भदौ २०८३ ८:४५

काठमाडौं। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। दिउँसो ३ बजेर २५ मिनेटमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तीमगरले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। पुनर्गठनअनुसार स्वास्थ्य मन्त्रीमा दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रजीत थारू तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा कृष्णा कुश्मा थारू नियुक्त भएका छन्। उनीहरूले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्।

मन्त्रिपरिषद् पुनर्गठनसँगै विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पठाइएको छ। त्यस्तै, सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट तीन जना तथा जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। केन्द्रमा भएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेकपासँग सत्ता साझेदारी अघि बढेको हो।

लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिष्ट पार्टीका १३, जनता समाजवादी पार्टी नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी कुल ८३ जना सदस्य छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *