रसुवा बाढीको वितण्डा: १ हजार ९७६ जनाको उद्धार, ९७७ अझै बेपत्ता
काठमाडौँ। नेपाल-चीन सीमास्थित ल्हेन्दे खोला क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम-चट्टान खसेर आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण ८ जिल्लामा गरी हालसम्म ३८९ जनाको शव फेला परिसकेको छ भने ९७७ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा खोज, उद्धार, आपत्कालीन स्वास्थ्य, सञ्चार एवम् विद्युत् पुनःस्थापनाका लागि १२ वटा विषयगत आपत्कालीन समन्वय टोली गठन गरी १३ हजार २९५ भन्दा बढी सुरक्षाकर्मी र १५ वटा हेलिकप्टर परिचालन गरेको छ।
प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ९७६ जनाको सकुशल उद्धार गरिएको छ भने १३० जना घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। सम्पर्कविहीन हुनेहरूमा सुरक्षा निकायका प्रतिनिधि, भन्सारका कर्मचारी, स्थानीय बासिन्दाका साथै ५१७ जना विदेशी नागरिक समेत रहेका छन्।
यसैबीच, भू-उपग्रह (स्याटेलाइट) तस्बिरको विश्लेषण र चिनियाँ जलस्रोत मन्त्रालयको चेतावनी अनुसार ल्हेन्दे खोलाको माथिल्लो तटीय क्षेत्रमा पहिरोका कारण नदीको बहाव थुनिएर करिब २० लाख घनमिटर पानीसहितको ठूलो प्राकृतिक ताल बनेको छ।
उक्त थुनिएको ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः अर्को विनाशकारी बाढी आउन सक्ने उच्च जोखिम रहेकाले प्राधिकरण र गृह मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन विशेष अपिल गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment