आजै साँझसम्म टनेलभित्र जाने प्रयासमा छौं : ऊर्जामन्त्री श्रेष्ठ

डिसी नेपाल
१३ भदौ २०८३ १९:१५

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताएका छन्।

टनेलभित्र फसेहरुको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भने, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ।’ मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराए।

श्रेष्ठले राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्न काम भइरहेको बताए। ‘राति पनि काम रोकेका छैनौं। राति रोक्यो भने आसै मर्छ। जे जस्तो छ भेटाउन सकिन्छ भन्नका लागि बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिनेवाला पार्ट हामी गरिरहेका छौं,’ उनले भने।

खोज तथा उद्धारका लागि नेपाल विद्युत प्राधिकरण र मन्त्रालयबाट उच्च तहका विज्ञ अधिकारीहरु परिचालन गरिएको मन्त्री श्रेष्ठले बताए। ‘हाम्रो नुवाकोटको ट्याक्टिकल अफिसले सक्रियरुपमा काम गरेको छ। सिनियर लेभलको म्याजेनमेन्ट टिम नुवाकोटमा छ। अर्को सिनियर लेभलको टिम रसुवामा छ,’ उनले भने।

मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक स्रोत, साधन र समन्वयका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए। मन्त्री श्रेष्ठले टनेलभित्र फसेका नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो प्राथमिकता भन्दै कुनै माध्यमबाट अक्सिजन पुर्याउन प्रयासरत रहेको बताए। ‘उद्धार हुनुअघि कुनै माध्यमबाट अक्सिजन टनेलभित्र पुर्याउन प्रयासरत छौं। उद्धार भएपछि त अस्पतालमा पनि राख्न सकिन्छ। पहिला जिवित हुनुपर्छ। त्यसका लागि अक्सिजन कुनै पाइपबाट पुर्याउन सकिन्छ कि भनेर लागेका छौं,’ उनले भने।

मन्त्रालयले पीडित परिवारलाई नियमित आधिकारिक सूचना दिने पनि मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए। ऊर्जा मन्त्री श्रेष्ठसँगको भेटमा पीडित परिवारका सदस्यले तीनवटा माग गरेका थिए।

पीडित परिवारले टनेलभित्र जीवित वा मृत्यु के अवस्था हो छिटोभन्दा छिटो जानकारी दिनुपर्ने माग राखेका थिए। यसैगरी टनेलभित्र बाच्ने व्यवस्था मिलाउनुपर्ने, कम्तीमा अक्सिजनको व्यवस्था गरिदिनुपर्यो भनेका थिए। यसैगरी उद्धारका लागि इक्विपमेन्टको जे जे चाहिन्छ व्यवस्था गरिदिनुपर्यो भनेका थिए।

रसुवा बाढीबाट १२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने विभिन जलविद्युत आयोजनाको टनेलभित्र पाँचसय भन्दा बढी मजदुर, कर्मचारी र स्थानीय फसेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *